साँझ परेपछि नेकपाको भर्चुअल सन्देश सभा
नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी तथा एक दर्जनभन्दा धेरै वामपन्थी घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रवासमा ‘एकता सन्देश सभा’ आयोजना गर्न लागेको छ । पार्टी प्रवास विभागको आयोजनामा अनलाइन जुम प्रविधिमार्फत कार्यक्रम तय गरिएको छ ।
यसअघि नेकपाले सुदूरपश्चिमको धनगढी, लुम्बिनीको लमही, गण्डकीको पोखरा, कोसीको विराटनगर र मधेसको जनकपुरमा प्रदेशस्तरीय एकता सन्देश सभा सम्पन्न गरिसकेको छ।
कार्यक्रमलाई नेकपा संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाललगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । साबिक एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा प्रवास इञ्चार्ज श्रीप्रसाद शाहका अनुसार नेपाली समय अनुसार साँझ ६ बजेबाट भर्चुअल एकता सन्देश कार्यक्रम हँुदै छ । पूर्व निर्धारित कार्यक्रम भएकोले विश्वभरबाट एकतामा आएका सबै सङ्गठनका साथीहरुको भव्य सहभागिता हुने शाहले बताए ।
एकतामा आएका वाम्पन्थी घटकमध्ये माओवादी निकट नेपाली जनप्रगतिशील मञ्च र एकीकृत समाजवादीको प्रवासी नेपाली एकता मञ्च मुख्यगरी प्रवासमा क्रियाशील छन्।

टिप्पणीहरू