उपाध्यक्षले मागे अध्यक्षको राजीनामा
राष्ट्रिय अपाङ्ग महासंघका वरिष्ठ उपाध्यक्ष रामबहादुर कार्कीले संस्थामा बढ्दै गएको अनियमितता, मनोमानी र आन्तरिक विवादप्रति गम्भीर आपत्ति जनाएका छन् । अध्यक्ष देविदत्त आचार्यमाथि लागेको आरोपले संस्थाको बद्नाम भएको उल्लेख गर्दै उनले तुरुन्त पदबाट राजीनामा दिन माग गरेका छन् ।
मोरङको केराबारी निवासी कार्कीले आचार्यलाई तत्काल राजीनामा दिएर छानबिनको बाटो खुला गरिदिन भनेका छन् । अनियमितताको विषयलाई लिएर निरन्तर समाचार आइरहँदा उनले खण्डन पनि गर्न नसकेको र पद पनि नछोडेको कार्कीको जिकिर छ ।
अध्यक्षमाथि महासंघको स्रोतसाधन दुरुपयोग गरेको, जिल्ला प्रशासन कार्यालयसँग गरेको सम्झौता उल्लंघन गरेको, कर्मचारीलाई मनोमानी निष्काशन गरेर संस्थालाई २० लाखभन्दा बढीको आर्थिक भार पारेको, महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको र निलम्बनमा परेको एक व्यक्तिलाई अन्तर्राष्ट्रिय अपाङ्ता दिवसकै दिन ‘राष्ट्रिय सम्मान’ प्रदान गरेकोलगायतको आरोप लागेको छ ।
उनकै कारणले सुदूरपश्चिम प्रदेशको बैंक खाता तीन महिनादेखि रोक्का भएको कार्कीले बताए । अपाङ्ग महासंघजस्तो परोपकारी संस्थामा बसेर अध्यक्षले गरेको कार्यले अपाङ्गता भएकाहरुको अधिकार, आन्दोलन धराशायी बन्ने खतरा बढेको उनको भनाइ छ । उनले अपाङ्ता क्षेत्रका सरोकारवाला, सदस्य संस्था र अधिकारकर्मीलाई एकताबद्ध हुन पनि आग्रह गरेका छन् ।
महासंघको साख र विश्वासनीयता जोगाउन सामूहिक दबाब सिर्जना गर्न आवश्यक रहेको जिकिर गर्दै उनले भने,‘अनियमितताविरुद्ध सबैले आवाज उठाउन जरुरी छ । अपाङ्गता अधिकार आन्दोलन कसैको दान दक्षिणाबाट नभई अधिकार र पहिचानको संघर्ष हो । त्यसैले सबैले हातेमालो गरौं ।’
टिप्पणीहरू