गभर्नरलाई साढे ४ लाखको घर, कार्यकारीलाई डेपुटी गभर्नर !

गभर्नरलाई साढे ४ लाखको घर, कार्यकारीलाई डेपुटी गभर्नर !

राष्ट्र बैंकका गभर्नर विश्व पौडेल भदौ २४ गते जेन जी विध्वंशमा घर जलाइएदेखि थापाथलीस्थित भवन पछाडिको सुरक्षा समूह ब्लकमा बस्दै आएका छन् । केन्द्रीय ढुकुटी रहेको स्थानमा गभर्नरको तीन सदस्यीय परिवार असोज शुरुदेखि बसेको दुई महिना पुगेको छ । सुरक्षा संवेदनशीलताको दृष्टिकोणले गभर्नर उक्त स्थानमा बस्न मिल्छ,मिल्दैन वा हुन्छ,हुँदैन भन्ने सम्बन्धित व्यक्ति र निकायको कुरो रह्यो । 

भैंसेपाटीस्थित निवास जलाइएपछि बैंकले गभर्नर आवासका लागि ललितपुरको कोपुण्डोलदेखि भैंसेपाटीसम्मको क्षेत्रमा विभिन्न शर्त तोकेर भाडाको घर आवश्यकताको शिलबन्दी बोलपत्र आह्वानको सूचना निकाल्यो । पहिलो पटक एउटा मात्रै आवेदन परेपछि दोस्रो पटकमा तीन वटा घर धनीले आवेदन दिएका छन् । 

सबैभन्दा कम प्रतिमहिना डेढ लाख कबोल गरिएको घर एउटा बैंकका अध्यक्षको भएकाले कानुनी रुपमा केन्द्रीय बैंकले लिनसक्ने अवस्था छैन । दोस्रो घर साढे २ लाख र पौडेलको जलेको घर नजिकै साढे ४ लाख रुपैयाँ दाबी गर्दै अर्को आवेदन परेको बुझिएको छ । 

१० वर्षअघि भूकम्प गएपछि तत्कालीन गभर्नर चिरञ्जीवी नेपाललाई बैंकले महाराजगञ्ज क्षेत्रको एउटा घर भाडामा लिएर सबै फर्निसिंग,फिनिसिंग, किचेन,बाथरुमका सामान उपलब्ध गराएको थियो । शुरुमा ७५ हजार रुपैयाँमा लिइएको उक्त घरको भाडा नेपाल अवकाश हुँदा ९९ हजार रुपैयाँ प्रति महिना पुगेको थियो ।

तर अहिले गभर्नर पौडेलले साढे ४ लाखको घरमा आँखा लगाएपछि बैंकका हाकिमहरु अप्ठेरोमा परेका हुन् । उति बेला ९९ हजारको भाडामा पछिल्लो पाँच वर्षको  मुद्रास्फिती दर जोड्दा बढीमा डेढ लाखको घर भाडामा लिन मिल्ने प्रचलित नियम छ । घर भाडा बन्दोबस्त गर्ने सम्पत्ति व्यवस्थापनका यसअघिका कार्यकारी निर्देशकले नमान्ने संकेत दिएपछि गत साता गभर्नरले केही हाकिमलाई सरुवा गरिदिएको बताइन्छ । 

 

सोफा,बेड,वाशिंग मेसिन, फ्रिजलगायत सामानका लागि ४० लाख रुपैयाँ माग्दा भाँजो हालेको भन्दै संस्थागत योजना विभागका कार्यकारी निर्देशकलाई मुद्रा व्यवस्थापन विभाग पुर्याइएको छ ।

आगामी फागुन २४ गते रिक्त हुने डेपुटी गभर्नरमा सिफारिसको आश देखाउँदै अहिले उक्त घर भाडामा मिलाउन पाल्पाका रेवती नेपाललाई विदेशी विनिमय व्यवस्थापन विभागबाट त्यहाँ पुर्र्याइएको धेरैको दाबी छ । उपनिर्देशक भएर नियमन विभागमा बसेदेखि कार्यकारी निर्देशकको जिम्मेवारीमा लघुवित्त विभागमा रहँदासम्म विभिन्न रकम कलमको मामलामा नेपाल सर्वाधिक विवादमा आएका पात्र हुन् ।

बैंकभित्रैका सुरक्षा गार्डहरुलाई थापाथलीमा बनाइएको भवनमा बस्दै आएका पौडेलको निम्ति गभर्नरको कार्यालयले आन्तरिक सजावट र उपयोगको सामान भन्दै माग गरेको बजेट कहालीलाग्दो भएको स्रोत बताउँछ । सोफा,बेड,वाशिंग मेसिन, फ्रिजलगायत सामानका लागि ४० लाख रुपैयाँ माग्दा भाँजो हालेको भन्दै संस्थागत योजना विभागका कार्यकारी निर्देशकलाई हालैको सरुवामा मुद्रा व्यवस्थापन विभाग पुर्याइएको छ । उक्त स्थानमा गभर्नरको कार्यालयमा दुई साता बसेका राजनविक्रम थापालाई लगिएको छ । 

बजेट र कार्ययोजना अभावमा जथाभावी खर्च गर्ने प्रवृत्ति पौडेल जेठ ६ गते बैंक प्रवेश गरेदेखि हुँदै आएको अधिकारीहरु बताउँछन् । गत जेठमा उनी गरिबलाई ऋण दिने अभियान चलाउँदै आधा दर्जन कर्मचारीको टोली लिएर पोखराबाट मध्य पहाडी राजमार्ग हुँदै धनगढी पुगेका थिए । दुई ठाउँमा राखिएको औपचारिक कार्यक्रम र कर्मचारीको भ्रमणभत्ता सबै जोड्दा १० लाख हाराहारी खर्च भएको बताइन्छ । 

गभर्नर घुम्न निस्कने र आयोजना गरिने कार्यक्रम आर्थिक वर्ष २०८१–८२ को बजेट र कार्ययोजनामा नभएको हालै अवकाशप्राप्त एकजना कार्यकारी निर्देशकले बताए । उनी भन्छन्, ‘केन्द्रीय बैंक कुनै व्यवसायी वा व्यापारीको पसल होइन,जतिबेला मनलाग्यो त्यति बेला कार्यक्रम गर्ने । यसको वार्षिक कार्ययोजना र बजेट पहिले नै तय भएको हुनुपर्छ ।’

गभर्नर पौडेलले ‘लुटको धन, फुपुको श्राद्ध’ शैली हालैको एक कार्यक्रममा काठमाडौं आएका रिजर्भ बैंक अफ इण्डियाका कर्मचारीहरुलाई रिझाउन अपनाएका थिए । दुई मुलुकका केन्द्रीय बैंकबीचको ज्वाइन्ट टेक्निकल कोअर्डिनेसन कमिटीको नवौं बैठकमा सहभागी हुन आएका चार जना भारतीयलाई गभर्नरको निर्देशनमा बैंकको खर्चमा काठमाडौं–पोखरा–काठमाडौं विमान टिकट, पोखरामा महँगो होटल र विशेष घुमघामको व्यवस्था मिलाइएको थियो । 

भारतीय रिजर्भ बैंकका गभर्नर नभएर एक जना विभागीय प्रमुख र तीन जना उनीभन्दा तल्लो तहका कर्मचारीलाई गभर्नरले घुमघाम गराएर खुशी पार्नुपर्ने थिएन । यसबारे बैंकको पोखरा कार्यालय स्रोतले भन्यो, ‘हामीले पनि त्यो कुरो सुनेका हौं । सुन्दै अचम्म लाग्यो,थप के भन्नु र !’

टिप्पणीहरू