एनसेलले शुरु गर्यो ‘डाटासँगै जीवन बीमा’ योजना
एनसेलले ‘डाटासँगै जीवन बीमा’ नामक नवीन योजना शुरु भएको छ । मेटलाइफ नेपालको साझेदारीमा यो योजना शुरु गरिएको हो ।
नेपालमै पहिलोपटक सुरु भएको यो सेवा लिने एनसेल ग्राहकले मोबाइल डेटासँगै जीवन तथा घातक रोगको बीमा एकैसाथ पाउने कम्पनीले जनाएको छ ।
योजनाअन्तर्गत एनसेलका ग्राहकले दुई विशेष प्याकेजमध्ये कुनै एक रोजेर बीमाको फाइदा लिन सक्छन्, जसमा डेटा प्रयोगसँगै बीमा सुविधा पनि प्राप्त हुन्छ ।
पहिलो प्याकेज करसहित ९९ रुपैयाँको रहेको छ । जसको तीन दिन समयसीमा रहनेछ । यो प्याकमा एक सय एमबी डेटा, दुई लाख रुपैयाँ बराबरको म्यादी जीवन बीमा र सोही बराबरको घातक रोग बीमा पाइन्छ ।
यो बीमा सुविधा प्याक खरिद गरेको मितिबाट ३० दिनसम्म मान्य रहने एनसेलले जनाएको छ । त्यस्तै, दोस्रोमा ३९ रुपैयाँको प्याक रहेको छ । यसको पनि समयसीमा तीन दिन रहन्छ ।
यसअन्तर्गत ग्राहकले एक सय एमबी डेटा, पाँच हजार रुपैयाँ बराबरको म्यादी जीवन बीमा र सोही बराबरको घातक रोग बीमा पाउँछन् । यो बीमा सुविधा पनि प्याक खरिद गरिएको मितिबाट ३० दिनसम्म मान्य रहनेछ ।
ग्राहकले एनसेल एपमार्फत आफूलाई मनपर्ने प्याक छानेर बीमाका लागि फाराम भरी सजिलै यो सुविधा लिन सक्छन् । यी प्याक ८१२३८४८६३ डायल गरेर पनि लिन सकिन्छ ।
प्याक लिएका ग्राहकको टर्म लाइफ इन्स्योरेन्स फाराम बुझाउनेबितिकै तुरुन्तै शुरु हुन्छ भने क्रिटिकल इलनेस (गम्भीर रोग) कभरेज ३० दिनको प्रतिक्षा अवधिपछि सक्रिय हुन्छ ।
यो साझेदारीले आफ्ना प्रयोगकर्ताको बीमा पहुँच सहज बनाउने एनसेलको विश्वास छ ।
टिप्पणीहरू