उनै राजा थिए विध्वंशमा जेलबाट भागेर प्रहरीको हतियार लुट्ने
जेनजी विध्वंसका क्रममा जेलबाट भागेका एक कैदीले प्रहरीको हतियार लुटेको तथ्य खुलेको छ। गत भदौ २४ गते विध्वंशको मौका छोपेर काठमाडौंस्थित सुन्धारा कारागारबाट भागेका २२ वर्षीय राजा तामाङ भन्ने वाङ्सु लामाले प्रहरीको हतियार लुटेका थिए ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले उनलाई नियन्त्रणमा लिएको जनाइएको छ। काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–१ घर भएका लामा ‘ज्यान मार्ने उद्योग’ मुद्दामा काठमाडौं जिल्ला अदालतको आदेशानुसार गत साउन ७ गते पुर्पक्षका लागि कारागार चलान भएका थिए।
जेलबाट भागेपछि उनी गोकर्णेश्वर नगरपालिका–३ स्थित डेरामा बस्दै आएका थिए । सिआईबीका अनुसार गत कात्तिक १३ गते साँझ काठमाडौं महानगरपालिका–७, लाहुरे टोलस्थित एक खाजाघर बाहिर रहेको प्लास्टिकको कुर्सीमाथि राखिएको कालो झोलामा ९७२ युके ६८३०१ ०३२१८९ नम्बरको ग्यास गनको बट र नाल छुट्टाछुट्टै अवस्थामा फेला परेको थियो।
उनको डेरा खानतलासी गर्दा तीन थान गोली समेत बरामद भएको सिआईबीले जनाएको छ। थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।
टिप्पणीहरू