गभर्नरको निवास खोज्दै राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले गभर्नर विश्वनाथ पौडेलको निवासको निम्ति भाडा घर खोजेको छ । भदौ २४ गते जेन जी विध्वंसमा भैंसेपाटीस्थित निजी निवास जलाइएपछि उनको लागि बैंकले निवास भाडामा लिन लागेको छ ।
बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले उक्त कार्यका लागि आज घर भाडासम्बन्धी प्रस्ताव आह्वान गरेको छ । गभर्नरको आवासका लागि भनिएको सूचनामा ललितपुरको बखुण्डोलदेखि भैंसेपाटीसम्म १ रोपनीदेखि डेढ रोपनी सम्मको घर खोजिएको हो ।
छ वटा गाडी पार्किङ गर्न मिल्ने, सुरक्षा गार्ड बस्ने घर हुनुपर्ने, चार वटा बेडरुमसहित सबै सुविधा भएको साढे २ तलादेखि तीन तलासम्मको घर खोजिएको छ । असोज २७ गतेसम्म घर भाडामा दिन चाहनेले बैंकमा प्रस्ताव प्रस्तुत गर्नुपर्ने छ ।
गत जेठ ६ गते गभर्नर नियुक्त पौडेलको यसअघि भैंसेपाटीमा पाँच आना जग्गामा बनेको साढे २ तलाको घर थियो । कम्पाउण्डमा पार्किङका लागि पर्याप्त जग्गा नभएको जनाउँदै बैंकले गत असारदेखि नजिकै ६ आना जग्गा गार्ड र गाडीको लागि भाडामा लिएको थियो ।
यसअघि डा. चिरञ्जीवी नेपालको लागि पनि बैंंकले पाँच वर्ष महाराजगञ्जमा घर भाडामा लिएको थियो । नेपालको पनि कुसुन्तीमा रहेको घर सानो भएको जनाउँदै बैंकले निवासको प्रबन्ध गरेको थियो । यसरी लिइएको घरभाडादेखि, भित्रको सबै खर्च बैंकले तिर्ने गर्छ ।

टिप्पणीहरू