ध्वस्त माओवादी मुख्यालयको खरानी उठाएपछि पुनर्निर्माण धमाधम
जेनजी आन्दोलनको नाममा अराजक समूहले तोडफोड र आगजनीबाट क्षति पुर्याएको नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको पुनर्निर्माण थालिएको छ । गत मंगलबार अराजक समूहले पेरिसडाँडास्थित पार्टी मुख्यालयमा लुटपाट गरेर आगो लगाएको थियो।
खरानी बनेको उक्त संरचनाको पुनर्निर्माण चाँडोभन्दा चाँडो सम्पन्न गर्नेगरी काम अघि बढाइएको पार्टीका नेताहरूले जनाएका छन्। विघटित प्रतिनिधिसभाका सदस्यसमेत रहेका युवा नेता माधव सापकोटाले भोलिसम्ममा ध्वस्त संरचनाबाट खरानी र अन्य फोहोर उठाइसक्ने जानकारी दिएका छन्। त्यसपछि मात्र निर्माण कार्य सुरु हुने उनले बताए।
सापकोटाले भने, ‘भर्खर पार्टी कार्यालयको अवस्था हेरेर फर्केको छु, केही छैन, सबै खरानी भएको छ। भोलिसम्म फोहोर व्यवस्थापन गरिसक्ने गरी काम भइरहेको छ, त्यसपछि अन्य निर्माण कार्य सुरु हुन्छ, चाँडै कार्यालय लयमा आउनेछ।’
पार्टी नेतृत्व फेरबदल अघि नेताहरू घटनाको अध्ययन र समीक्षा गरिरहेको उनले बताए। उनले भने, ‘कल्पनाभन्दा बाहिरको सार्वजनिक सम्पत्ति क्षति भएको छ। पहिले घटनाका कारणबारे अध्ययन गरिनेछ, त्यसपछि मात्र नेतृत्वको बहस टुंगो लाग्नेछ।’
सापकोटाले सामाजिक सञ्जालमा भएको आन्दोलनलाई मात्रै आरोप लगाएर सिंहदरबार, संसद भवन, सर्वोच्च, राष्ट्रपति कार्यालय लगायतका राज्य सम्पत्ति ध्वस्त भएको ठान्नु ठूलो गल्ती हुने ठाने। उनले जोड दिए, ‘पहिले घटनाका कारणबारे अध्ययन र समीक्षा गर्नु आवश्यक छ। कुन शक्तिले विध्वंश मच्चायो भन्ने विषय स्पष्ट नगरी नेतृत्वको बहस अर्थपूर्ण हुँदैन।’
उनले सरकारले अन्तर्राष्ट्रिय कूटनीतिक रुपमा कमजोरी देखाएको हो वा युवाहरूको काधमा बन्दुक राखेर विध्वंश गराउने उद्देश्य के थियो भन्नेबारे पार्टीले अध्ययन गर्ने बताए। सापकोटा अनुसार खतरा अझै पूर्णरुपले टरेको छैन, त्यसैले हतारमा निर्णय गर्नु दुर्घटनाको जोखिम बढाउँछ।
आगजनीमा आफ्नो घर पनि गुमाएका सापकोटाले अन्य राजनीतिक दलहरूलाई पनि घटनाको कारण अध्ययन गर्न आग्रह गरे। उनले भने, ’कलिला भाइबहिनीहरूले यसरी आगो लगाएर मुलुक नै सखाप पार्ने उद्देश्य राखेका थिए कि? सबै राजनीतिक दलहरूले यसलाई गम्भीरतापूर्वक अध्ययन गर्नुपर्छ।’
सापकोटाले पार्टी नेताहरू अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग निरन्तर संवादमा रहेको र घटनाबारे सुक्ष्मरुपमा छलफल भइरहेको जानकारी पनि दिएका छन् ।
टिप्पणीहरू