विदेशबाट पाँच हजार डलर ल्याउन पाउने व्यवस्थापछि लुम्बिनीमा उत्साह

विदेशबाट पाँच हजार डलर ल्याउन पाउने व्यवस्थापछि लुम्बिनीमा उत्साह

नेपाल राष्ट्र बैंकले भारतीय पर्यटकलेसमेत पाँच हजार अमेरिकी डलर बराबरको भारतीय रूपैयाँ नेपाल ल्याउन अनुमति दिएपछि लुम्बिनीका व्यवसायीहरू खुशी देखिएका छन् । उनीहरुले उक्त कदमले पर्यटन र स्थानीय अर्थतन्त्रमा राहत पुर्याउने विश्वास व्यक्त गरेका छन् ।

नयाँ व्यवास्थ अनुसार हवाई वा स्थलमार्गबाट नेपाल प्रवेश गर्ने भारतीय यात्रुहरूले अब पाँच हजार अमेरिकी डलर बराबरको विदेशी मुद्रा ल्याउन सक्ने छन् । यसअघि यो सीमा २५ हजार भारतीय रूपैयाँमा सीमित थियो ।
राष्ट्र बैंकले नयाँ प्रावधान कार्यान्वयन भएको जानकारी दिएपछि कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप साहले नयाँ सुविधाले नेपालमा पर्यटक संख्या बढाउने र स्थानीय अर्थतन्त्रमा सुधार ल्याउने अपेक्षा गरेका छन् । उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नसरूल्ला खानले पनि भारतीय पर्यटकलाई भन्सार घोषणा नगरी पाँच हजार डलर बराबरको रूपैयाँ ल्याउन पाउनु पर्यटन व्यवसायका लागि राहत पुग्ने बताए । 

कपिलवस्तुमा सुविधा सम्पन्न लुम्बिनी ग्रिन रिसोर्टसहित ४५ भन्दा बढी होटल सञ्चालनमा छन् । तर, व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेलका अनुसार, पर्यटकको बसाइँ लम्ब्याउने चुनौती अझै बाँकी छ । यहाँको पर्यटन मुख्यतः आन्तरिक र सीमा क्षेत्रका भारतीय पर्यटककै भरमा निर्भर देखिन्छ ।

टिप्पणीहरू