एमाले नेता लाओसबाट फिर्ता

एमाले नेता लाओसबाट फिर्ता

लाओसमा मार्क्सवादी राजनीतिक दलहरूको शासकीय अनुभवबारे बहस गरिएको छ । राजधानी भेन्टेइनमा गत शनिबारदेखि हिजोसम्म भएको कम्युनिष्ट बुद्धिजीवी, प्राध्यापक र अध्येताबीच भएको बहसमा चीन, भियतनाम, लाओस र नेपालका प्रतिनिधिहरू सहभागी भएका हुन् ।

चीनको क्वाङ्सी विश्वविद्यालय अन्तर्गतको स्कुल अफ माक्र्सिज्म र लाओ नेसनल विश्वविद्यालयले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा एक सयभन्दा बढी सहभागीले आ–आफ्नो देशका राजनीतिक अभ्यास, कम्युनिस्ट दलहरूको अनुभव र सैद्धान्तिक बहसबारे धारणा राखेका थिए । 

नेपालबाट एमाले केन्द्रीय सदस्य विष्णु रिजालले एमालेको विधान महाधिवेशनले तय गरेको राजनीतिक बाटो, नेपाली विशेषता अनुरूपको समाजवाद, जननेता मदन भण्डारीको बहुदलीय जनवाद, शान्तिपूर्ण क्रान्तिको सम्भावना तथा जनताको जीवनस्तरमा ठोस सुधार ल्याउन भएका प्रयासहरूलाई केन्द्रीकृत गरिएकोे बारेमा प्रवचन दिएका हुन् । उनले नेपालका कम्युनिष्टहरूले चुनावमार्फत मुलुकमा स्थायित्व र परिवर्तन ल्याउने अभ्यासलाई उदाहरणका रूपमा प्रस्तुत गरेको सन्दर्भ पनि राखेका थिए ।

नेता रिजालले नेपाली कम्युनिष्ट आन्दोलनले लोकतान्त्रिक बाटो हुँदै समाजवादतर्फ अघि बढ्ने अभ्यासलाई विशेष उदाहरणका रूपमा उठाएको सन्दर्भको विश्लेषण गरेका हुन् ।

कार्यक्रममा विश्व कम्युनिष्ट आन्दोलनसँग जोडिएका पाँच मूल विषयवस्तुमाथि छलफल गरिएको थियो । सशस्त्र वा शान्तिपूर्ण मार्गको प्रश्न, चुनावी सफलताका चुनौती र अवसर, माक्र्सवादी सिद्धान्तको लोकप्रियता र यसको वर्तमान सान्दर्भिकता, प्रविधिगत युगीन परिवर्तनले कम्युनिष्ट आन्दोलनमा पारेको प्रभाव, र समाजवादी मार्गमा रहेका विभिन्न देशको अनुभव आदान–प्रदान छलफलका विषय थिए ।

चीन र भियतनामका सहभागीहरूले आफ्ना दलले नेतृत्व गरेको सरकारका नीतिगत उपलब्धि र चुनौतिबारे प्रस्तुत गरेका थिए भने लाओसका प्राध्यापकहरूले पार्टी, राज्य र जनताको सम्बन्धबारे गहिरो व्याख्या गरेको बताइन्छ । 

सहभागीहरूबीच अनुभव आदान–प्रदान गर्ने सहमतिसँगै भविष्यमा यस्ता बहसलाई अझै सुदृढ बनाउन विभिन्न देशका विश्वविद्यालय र अध्ययन संस्थाबीच सहकार्य गर्ने सहमति गरिएको छ ।

 

टिप्पणीहरू