सरकारी अधिकारीबीच नोकझोंक, बाघलाई १५ लाख

सरकारी अधिकारीबीच नोकझोंक, बाघलाई १५ लाख

वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले जनावरलाई माया गर्ने मान्छेले भ्रष्टाचार नगर्ने बताएका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषले ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना व्यवस्थापन गरेको ३०औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनावरलाई माया गर्ने मान्छेको मन कोमल हुने बताएका हुन् ।

कर्णालीबाट पहिलोपल्ट काठमाडौँ आउँदा आफ्नो परिवारले पनि चिडियाखाना अवलोकन गरेको स्मरण गर्दै मन्त्री चौलागाईंले आगामी दिनमा थप व्यवस्थित गर्न कोषलाई शुभकामना पनि दिए । ‘यहाँ जति पनि उपस्थित हुनुहुन्छ, सबै जनावर, चराचुरुङ्गी र वातावरणसँग नजिक हुनुहुन्छ, र मलाई लाग्छ जनावरसँग नजिक हुने मान्छेहरु भ्रष्टाचार गर्दैनन्’, उनले भने, ‘यो चिडियाखानामा जनावरको संरक्षण गरेर मात्र राखिएको छैन, यसले विद्यार्थीहरुलाई नजिकबाट जीवजन्तुसँग साक्षात्कार गर्ने मौका दिएकाले यो शैक्षिक गन्तव्य पनि हो ।’

मन्त्री चौलागाईंले आफ्नो कार्यकाल सकिनुअघि सूर्यविनायकमा रहेको राष्ट्रिय प्राणी उद्यानको सञ्चालनको जिम्मा पनि कोषलाई दिने प्रतिबद्धता समेत व्यक्त गरे । ‘यो त चुनावी सरकार हो, मेरो कार्यकाल छोटो छ, तर म जानुअघि सूर्यविनायकको ‘ओपन जू’ चलाउने जिम्मा पनि कोषलाई दिने निर्णय गराउछु, अहिले हामी त्यसको प्रक्रियामा छौँ’, उनले थपे ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सदर चिडियाखानाको उत्कृष्ट व्यवस्थापनको लागि सहकार्य गर्न तयार रहेको बताए । उक्त चिडियाखानाले महानगरको गरिमा बढाएको उनको अनभुव छ । ‘यो चिडियाखानाले महानगरको शान बढाएको छ, यस्तो गरिमा बोकेको महानगरको मेयर हुन पाउनु मेरो सौभाग्य हो, त्यो पनि दुई पटक’, उनले भने, ‘मैले चिडियाखाना खुला हुने साँझको समय लम्ब्याऔँ, के के सहयोग चाहिन्छ, म तयार छु भनेको थिएँ, कोषले कुनै सहयोग नमागी राती पनि खुला गर्ने निर्णय गर्यो, त्यसको लागि धन्यवाद ।’

मेयर महर्जनले चिडियाखानामा रहेका पाटेबाघलाई खाना खुवाउन आवश्यक पर्ने रकम महानगरले व्यहोर्ने भन्दै १५ लाख दिने घोषणा समेत गरे । ‘अहिले चेकको जमाना पनि सकिसक्यो, साँझसम्म जसरी पनि कोषको खातामा १५ लाख आउँछ’,उनले थपे ।

राष्ट्रिय प्राकृति स्रोत तथा वित्त आयोगका अध्यक्ष जुद्धबहादुर गुरुङले उक्त चिडियाखाना मनोरञ्जनको लागि मात्र नभएर जीवजन्तुमाथि अध्ययन र अनुसन्धानको उपयुक्त ठाउँ बनेको बताए । ‘यसले नागरिकलाई मनोरञ्जन मात्र दिएको छैन, विभिन्न जनावरमाथि अध्ययन र अनुसन्धान गर्ने ठाउँ पनि बनेको छ’, उनले भने, ‘आगामी दिनमा यसको व्यवस्थापन र पहुँच थप विस्तार भएको हेर्न पाइयोस् ।’

कोष पूर्व अध्यक्ष डा. कृष्णप्रसाद ओलीले विगतमा चिडियाखाना व्यवस्थापनको लागि झेल्नुपरेका अनुभव सुनाउँदै कर्मचारीतन्त्रबाट दुख पाएको गुनासो गरे । सत्तामा पुग्नेहरु कहिल्यै पनि वातावरण र जीवजन्तु संरक्षणको विषयमा गम्भीर नबनेको उनको दुखेसो छ । नेपालले हालै कतार पठाएको दुई हात्ती (खगेन्द्रप्रसाद र रुद्रकली)को उदाहरण दिदै भने, ‘वास्तवमा त्यो त सरकारले डेढ वर्षअघि नै हात्ती उपहार दिने घोषणा गरेको हो, त्यसको दुई चार महिनामै पठाइसक्नुपर्ने हो’, उनले भने, ‘तर यत्रो समय किन लाग्यो त भन्दा हाम्रो ब्युरोक्रेसीले, यता के भन्छ, उता के भन्छ ।’

पूर्व अध्यक्ष ओलीले कर्मचारीको कारण नेपालले चीनलाई दिने भनिएको एक जोडी गैँडा पठाउन नसकिएको पनि दुखेसो पोखे । ‘नेपालले पहिल्यै चीनलाई एक जोडी गैँडा दिएको थियो, त्यो मरेपछि अघिल्लो वर्ष तत्कालीन मन्त्री (ऐनबहादुर शाही) चीन गएको बेला त्यहाँको वनमन्त्रीसँग अर्को एक जोडी दिने वाचा गर्नुभयो’, ओलीले सुनाए, ‘तर आजका दिनसम्म त्यसको प्रक्रिया अघि बढेको छैन, एउटा मन्त्रीले गरेको वाचा त राज्यले गरेको वाचा हो नि, तर हाम्रो झन्झटिलो कर्मचारीतन्त्रको कारण पठाउन सकिएको छैन ।’

ओली र मन्त्रीबीच नोकझोक

पूर्वअध्यक्ष ओलीले कार्यक्रममा सूर्यविनायकको अलपत्र राष्ट्रिय प्राणी उद्यानको सन्दर्भ औँल्याएपछि मन्त्री चौलागाईंसँग कार्यक्रममै नोकझोक समेत चल्यो । ‘सूर्यविनायकमा शिलान्यास भएको १०÷१२ वर्ष भइसक्यो, तर आजसम्म सरकारले न कोषलाई चलाउन दिएको छ, न आफै चलाउन सकेको छ’, उनले आक्रोशित हुँदै भने, ‘किन त्यस्तो भइरहेको छ भन्दा भित्रकै केही मान्छेहरु त्यहाँ कोषले जिम्मा नपाओस् भनेर लागिरहेका छन्, ब्युरोक्रेसीमा पनि पुरै र्याम्बलिङ छ ।’

ओलीले कर्मचारीतन्त्रको कारण वातावरण संरक्षणको अभियानमा समस्या सिर्जना भइरहेको बताएकोमा मन्त्री चौलागाईं भने सहमत भएनन् । उनले मञ्चबाटै ओलीलाई सम्बोधन गरेर असहमति जनाए । सूर्यविनायकको राष्ट्रिय प्राणी उद्यान अलपत्र पर्नुको कारण कर्मचारीतन्त्र नभइ नेतृत्वमा पुग्ने पात्रहरु रहेको उनको तर्क छ । ‘मैले पनि वर्षौअघि सुनेको हुँ सूर्यविनायकमा ओपन जु बन्न लागेको छ भन्ने कुरा, तर आजसम्म नबन्नुको कारण कर्मचारी होइन, तपाईहरुजस्तो नेतृत्वमा पुग्नेहरु हो’, उनले जवाफ फर्काए, ‘वास्तवमा कर्मचारी सक्षम छन्, तर उनीहरुको हात नेतृत्वमा पुग्नेहरुले बाँधिदिएका छन्, आजसम्म कोषको नेतृत्वमा पुग्नेहरुले यसको जिम्मेवारी लिनुपर्छ कि पर्दैन ?’

कार्यक्रममा मन्त्री चौलागाईँ र कोषका पूर्व अध्यक्ष ओलीको नोकझोकले माहोल तातेपछि ललितपुर महानगरका मेयर महर्जनले ठट्टा गर्दै विषयान्तर गरेका थिए । ओलीतिर हेर्दै उनले भने, ‘पूर्व अध्यक्षज्यूले मन्त्रीज्यूलाई असन्तुष्टी सुनाउनुभयो, तर उहाँलाई नसुनाएको भए नि हुन्थ्यो, उहाँहरु त चुनावी सरकार न हो, फेरि मन्त्रीज्यूलाई गाह्रो पर्ला, बरु डिजीसापलाई भनेपछि काम बन्छ कि !’

१४ सय जनावर, ७५ कर्मचारी

०५२ सालदेखि सदर चिडियाखानाको व्यवस्थापना गर्दै आएको कोषले थप ३० वर्षको लागि सम्झौता नवीकरण गरिसकेको छ । गत वर्ष २९औँ वार्षिकोत्सवको अवसरमा तत्कालीन वनमन्त्री ऐनबहादुर शाहीको उपस्थितिमा सरकारसँग सम्झौता नविकरण गरिएको कोषका सदस्य सचिव नरेश सुवेदीले जानकारी दिए । उनका अनुसार कोषले ३० वर्षसम्मको लागि तीन वटा दीर्घकालीन योजना बनाएर व्यवस्थापनलाई सुधार गर्दैछ । ‘अघिल्लो वर्ष सम्झौता नवीकरण भएको छ, अब तीन चरणको योजना बनाएर अघि बढ्दैछौँ’, उनले भने, ‘दश÷दश वर्षको योजना तयार हुँदैछ, त्यसलाई कार्यान्वयन गर्न विभिन्न अभियान र कार्यक्रमहरु पनि सञ्चालन गर्ने सोचेका छौँ ।’

सुवेदीले हाल चिडियाखानामा १४ सयभन्दा बढी जीवजन्तु रहेको र उनीहरुको स्याहारसुसार तथा व्यवस्थापनको लागि ७५ भन्दा बढी कर्मचारीले काम गर्दै आएको पनि जानकारी दिए । ‘यहाँ एक सय १७ भन्दा बढी प्रजातिका छन्, मासिक रुपमा एक लाख हारहारीमा दर्शकले चिडियाखानाको अवलोकन गर्दै आउनुभएको छ’, उनले थपे ।

सुवेदीका अनुसार हाल कोषले चिडियाखानाबाटै बार्षिक रुपमा १७ करोडभन्दा बढी आम्दानी गर्दै आएको छ । त्यसमध्ये १२ करोड चिडियाखानाकै व्यवस्थापनमा खर्च हुँदै आएको बताइन्छ । नाफा भएको रकमबाट अन्य ठाउँमा पनि चिडियाखाना सञ्चालन गर्ने कोषको तयारी छ । सरकारले सूर्यविनायकको राष्ट्रिय प्राणि उद्यानको सञ्चालन गर्ने जिम्मा कोषलाई दिएमा उत्कृष्ट नतिजा दिने सुवेदी बताउँछन् । ‘यो चिडियाखाना अहिले आफ्नै आम्दानीले चलेको हो, हामीले कसरी व्यवस्थापन गरिरहेका छौँ, सबैले देखेकै छन्’, उनले भने, ‘सूर्यविनायकको पनि सरकारले हामीलाई चलाउ भनेर देओस्, हामी हाम्रै रकमबाट (चाहे डोनेसनबाट होस्), सरकारको एक रुपैयाँ खर्च नहुनेगरी सञ्चालन गर्न सक्छौँ, त्यसलाई हामी देशकै नमूना उद्यान बनाउने योजना छ ।’

कार्यक्रममा स्मारिका पुस्तक समेत विमोचनसहित कोषका संस्थापक निर्देशक राधाकृष्ण श्रेष्ठ, पूर्व निर्देशक सरिता ज्ञवाली, संरक्षण अधिकृत ईन्द्रराज भट्टराईलगायतलाई सम्मान समेत गरिएको थियो । भने, वर्षको उत्कृष्ट कर्मचारी पुरस्कार शंकर थारुलाई प्रदान गरिएको छ । थारु चिडियाखानामा २० वर्षदेखि कार्यरत छन् ।

टिप्पणीहरू