मदन र जबज फिर्ता

मदन र जबज फिर्ता

नेकपा (एमाले) ले अब कमरेड विद्या भण्डारीलाई पार्टीमा प्रवेश नगराउने भयो । आफूलाई रोक्ने निश्चित भएपछि कमरेड भण्डारीले अस्ति एउटा पत्रकार सम्मेलन गर्नुभयो । जसमा स्वतः सिद्ध एउटा ब्यानर राखिएको थियो– जनताको बहुदलीय जनवाद जिन्दावाद ! 
सँगै तस्बिर थियो मदन भण्डारीको ।

मदन विद्या भण्डारीकै श्रीमान हुनुहुन्छ । त्यसैले मदनमाथि विद्याको पूरै हक लाग्छ । मदन आफ्नो श्रीमान भएका कारणले उहाँका सम्पूर्ण चल अचल सम्पत्तिमाथि पनि विद्याकै एकल हक लाग्छ । ‘जनताको बहुदलीय जनवाद’ मदनले नै बनाएको सिद्धान्त हो । मदनले बनाएको भनेपछि यो सिद्धान्त मदनकै सम्पत्ति हो । अतः मदनको निधनपश्चात ‘जनताको बहुदलीय जनवाद’ माथि पनि विद्याको स्वतः हक लाग्ने भयो ।   

यदि विद्यालाई पार्टीमा भित्रिन दिन्न भनियो भने विद्याले पनि मदन भण्डारी र जनताको बहुदलीय जनवाद अर्थात ‘जबज’ पनि पार्टीलाई दिन्न भन्न सक्ने देखियो । सम्पत्तिको हकसम्बन्धी ऐनअनुसार यी दुवै चीज उहाँका निजी हुन् । उहाँले चाहनुभयो भने दुवै कुरा एमालेबाट फिर्ता लिन सक्नुहुन्छ । अब अनुमान गर्नोस्, मदन भण्डारी र जबज विद्या भण्डारीले फिर्ता लानुभयो भने एमालेको हालत के होला ? कसैले सोचेको छ ?    
 

टिप्पणीहरू