बालेनको खाद्य सल्लाहकार

बालेनको खाद्य सल्लाहकार

मेयर बालेन साहले पनि चुनावमा उम्मेदवार उठाउने भएछन् । बुटवलमा अब हुने उपचुनावमा बालेनका एक सल्लाहकारले उम्मेदवारी दिने रे ! भन्नाले दललाई नमाने पनि बालेन बहुदलीय व्यवस्थामा चाहिँ प्रवेश गर्ने भएछन् । दल नमान्ने तर बहुदल मान्ने । यो पनि नेपाली लोकतन्त्रको नयाँ प्रयोग नै होला । 

सुनिन्छ, यो बहुदलीय प्रतिस्पर्धामा बालेनका तर्फबाट जो उम्मदेवारी दिँदैछन्, उनी बालेन साहका खाद्य सल्लाहकार हुन् । सल्लाहकार त बालेनका धेरै छन् । उनका कति धेरै सल्लाहकार छन् भन्ने कुरा त अहिले महानगरमा भइरहेको भद्रगोलबाटै थाहा हुन्छ । तर, यति धेरै सल्लाहकार हुँदाहुँदै बालेनले खाद्य सल्लाहकारलाई नै उठाउन खोज्नुको कारण के होला ? बालेनको खाद्य सल्लाहकार भनेपछि मान्छे झस्कन्छन् । किनभने धेरैको अनुमान छ, खाद्य सल्लाहकारले बालेनलाई के खाने, के नखाने भन्ने विषयमा सही सल्लाह दिइरहेका छैनन् ।

बाहिर चर्चा छ, मेयर बालेन साह अक्सर त्यस्ता पदार्थ पनि खाने गर्छन् जुन सामान्यतया खानै मिल्दैन । रातबिरात जो अनेक खालका स्टाटसहरू आउने गर्छन्, त्यो सबै यही खाद्य पदार्थको कमाल हो । त्यो खाएपछि एकाएक जाँगर चढ्न थाल्छ र यस्ता स्टाटस आउन थाल्छन् । यसबाटै थाहा हुन्छ, बालेन साहले आफ्नो खाद्य सल्लाहकारबाट खाने मामिलामा सही सल्लाह पाइरहेका छैनन् । जुन सल्लाहकारले आफ्नै मेयरलाई त सही सल्लाह दिन सकेका छैनन् तिनले चुनाव जितेर देश र जनतालाई के सल्लाह देलान् ए गाँठे ! 
 

टिप्पणीहरू