महादेवको बाउ
अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीले महादेवको बाउ पनि पत्ता लगाउनुभएछ । भर्खरै एउटा सभामा बोल्दै उहाँले भगवान शिव पनि चामलिङ हुन सक्ने अनुमान दावी गर्नुभयो । भगवान शिव भनेको महादेव हो । महादेवलाई यस्तो देव भनिन्छ जसको न बाउ छ, न आमा छ । तर, प्रम ओलीले महादेवको बाउ पत्ता लगाइदिनुभयो । महादेवको बाउ चामलिङ रहेछन् !
दुनियाँमा प्रधानमन्त्री ओलीले पत्ता नलगाएको केही पनि छैन । पत्ता लगाउन बाँकी भनेको यही एउटा थियो । यो पनि पत्ता लगाएरै छोड्नुभयो । केही समयअघि मात्रै उहाँले भगवान श्रीरामको जन्मभूमि पत्ता लगाउनुभएको थियो ।अयोध्या त नक्कली जन्मभूमि रहेछ । खास जन्मभूमि त नेपालको ठोरी रहेछ ।
त्यसको केही समयपछि कोरोनाको औषधि पत्ता लगाउनुभयो । कोरोनाको औषधि नपाएर संसारै छट्पटाइरहेको बेला उहाँले आफ्नै भान्छामा कोरोनाको औषधि पत्ता लगाउनुभएको थियो । वास्तवमा त्यही वर्ष उहाँलाई औषधि विज्ञानको लागि नोबेल पुरस्कार दिइनु पथ्र्याे ।
तर, कम्युनिष्टलाई नोबेल पुरस्कार नदिने परम्पराका कारण चुक्नुभयो । अब आएर नयाँ खोजको रूपमा उहाँले महादेवको बाउ पत्ता लगाउनुभएको छ । उहाँ पटक पटक प्रधानमन्त्री हुनुभयो, आजसम्म मदन भण्डारी र जीवराज आश्रितको हत्यारा पत्ता लगाउन सकिएको छैन । तर महादेवको बाउ भने तुरुन्तै पत्ता लगाउनुभयो । धन्य हो क. ओलीको लीला !
टिप्पणीहरू