जेलमा दुई पत्रकार

जेलमा दुई पत्रकार

जेलबाट खबर आएको छ कि रास्वपाका पूर्वअध्यक्ष रवि लामिछानेले संघीय व्यवस्था खारेज गर्नुपर्छ भनेका छन् रे । यो खबर ल्याउने खबरीचाहिँ राप्रपाका नेता रविन्द्र मिश्र रहेछन् । रविन्द्र मिश्र र रवि लामिछाने दुबै भूतपूर्व सञ्चारकर्मी हुन् । जेलमा बस्दा दुबैजनाले मास मिडियाबारे ठूलै चर्चापरिचर्चा गरे होलान् । पत्रकारिता त खत्तमै भो भनेर पनि चिन्ता व्यक्त गरे होलान् । शायदै त्यही भएर होला, जेलभित्र भूपू टिभी कार्यक्रम प्रस्तोता रवि लामिछानेको अन्तर्वार्ता भूपू पत्रकार रविन्द्र मिश्रले लिए । अन्तर्वार्ता न अरूलाई दिए, न अरूले लिए । 

अब जहाँसम्म संघीय व्यवस्था खारेज गर्नुपर्छ भन्ने रवि लामिछानेको महान् वाणी छ, उनीबाट यस्तो विचार आउनु स्वाभाविकै हो । हुनसक्छ, केही समयपछि उनले संघीय व्यवस्था मात्र होइन यो बहुदलीय व्यवस्थै खारेज हुनुपर्छ भनेर वक्तव्य दिन पनि बेर लाग्दैन । किनभने यही संघीय–बहुदलीय व्यवस्थाले उनलाई समातेर जेलमा कोचेको हो । जुन व्यवस्थाले आफूलाई समातेर जेलमा कोच्यो त्यो व्यवस्था खारेज नगरेर गमलामा फूलझैँ सजाई राख्ने त ! आफूलाई जेल हाल्ने प्रणाली खारेज गर भनेर रविले माग गर्नु कुन ठूलो कुरा भयो र ? हैन त ?

टिप्पणीहरू