जिम्मेवार प्रतिपक्षी

जिम्मेवार प्रतिपक्षी

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल उर्फ प्रचण्डले जिम्मेवार सत्तापक्ष कसरी हुने हो त्यो त अहिलेसम्म थाहै पाउनुभएको छैन । तर, जिम्मेवार प्रतिपक्षी कसरी बन्ने हो त्यसको ज्ञान भने छिट्टै प्राप्त गरिसक्नुभएको छ ।

जिम्मेवार प्रतिपक्षीको नमुनास्वरूप उहाँले गृहमन्त्रीको राजीनामा माग नगर्ने नर्णय गर्नुभएको छ । प्रतिपक्षी कसरी जिम्मेवार हुने भन्ने ज्ञान नआउञ्जेल त उहाँ पनि गृहमन्त्रीको राजीनामा चाहियो भनेर दौडिरहनुभएको थियो । संसदमा हंगामा गर्नुभयो, नाराबाजी गर्नुभयो, घेराउ गर्नुभयो । तर, यति गर्दागर्दै उहाँमा ज्ञान आयो, सदनमा हंगामा गरेर के हुन्छ ? गृहमन्त्रीले काम गर्न पाउँदैन, संसदले बजेट पारित गर्न सक्दैन, बजेट आएन भने कर्मचारीलाई तलब ख्वाउन सकिँदैन । एक जिम्मेवार प्रतिपक्षीको काम कर्मचारीको तलब रोक्ने होइन । बरु रोकिएको तलब निकाशा गर्ने हो । यो जिम्मेवारी महसुस गर्दै प्रतिपक्षी माओवादीले राजीनामा नमाग्ने निर्णय गर्‍यो । 

योभन्दा अघि बजेट प्रस्तुत गर्न संसद चल्न दिने निर्णय गर्नुभएको थियो । अब आर्थिक अनियमिता भयो भने त्यसमा पनि विरोध गर्न बन्द गरिन्छ होला । किनभने विरोध प्रदर्शनले मान्छेहरू सडकमा आउँछन् । सडकमा आए भने सरकारले काम गर्न सक्दैन । प्रमुख प्रतिपक्षीको काम सरकारलाई काम गराउने हो । अनि विरोध गरेर सरकारको काम अघि बढ्छ त ?
 

टिप्पणीहरू