चिनियाँ पठारमा सक्रिय वैज्ञानिक काठमाडौंमा पुरस्कृत
पछिल्लो समय चीनको सिजाङ स्वायत्त प्रदेश तथा छिङहाइ प्रान्तका पठार भूमिमा परेको र पर्नसक्ने जैविक तथा पर्यावरणीय प्रभावमा विशेष अध्ययन गरेका चिनियाँ वैज्ञानिक डा.सिनछुआन चाओ र उनको टिमले यस वर्षको डाक्टर आन्द्रिस सिल्ड मेमोरियल माउन्टेन पुरस्कार प्राप्त गरेको छ ।
उच्च हिमाली भागका विविध विषयमा अनुसन्धान गरेका दुई जना भुटानी अनुसन्धानकर्तासँगै पुरस्कृत सिनछुआन टिमले विशेषगरी हिमालय क्षेत्र वरपर देखिएको पर्यावरणीय ह्रासमा तत्काल रोकथामका साथै त्यसको समस्या समाधानमा आफूले प्राप्त गरेको पुरस्कार सहयोगी हुने बताए ।
यस वर्षको डा. आन्द्रिस सिल्ड मेमोरियल माउन्टेन पुरस्कार ग्रहणपछि जनआस्थासँगको कुराकानीमा उनले भनेका छन्, ‘चीनको छिङहाइ प्रान्तको सान्चिआङयुआन क्षेत्रको घाँसेमैदानमा केन्द्रित भएर गरिएका मेरा कतिपय अनुसन्धानले उच्च हिमाली, पठार क्षेत्रमा देखिएका पर्यावरणीय चुनौती र त्यसबाट समुदायमा पर्ने प्रभावको संकेत गरेको छ ।’
चिनियाँ वैज्ञानिकको अनुसन्धान मूलतः पठार क्षेत्रको घाँसे मैदान र चरन क्षेत्रको विश्लेषणमा केन्द्रित छ । त्यसमा विशेषगरी घाँसे मैदान, त्यहाँको माटो र वनस्पतिको समुदायमा पर्ने प्रभावमाथि अध्ययन गरिएको हो । त्यस्तै पर्वतीय घाँसे मैदान, परिस्थिति र जैविक विविधताका साथै जैविक संरक्षण र पठारका पशु–वनस्पति–मानव सम्बन्धमा पनि अनुसन्धान गरिएको छ । उनका अन्य अनुसन्धानमा जल तथा वातावरणीय परिवर्तन घाँसे मैदानको दीर्घकालीन स्थिरता विशेष हुन् ।
आजैदेखि हिमालयन युनिभर्सिटी कन्सोर्टियम (एचयुसी) को सचिवालय जिम्मेवारी काठमाडौं विश्वविद्यालयलाई दिइएको छ । चीनलगायत हिमालय क्षेत्रका विभिन्न मुुलुकका विश्वविद्यालय तथा अनुसन्धान संस्थाहरूको बहुराष्ट्रिय शैक्षिक सञ्जालको रुपमा विकसित हुँदै आएको एचयुसीको नेतृत्वदायी र समन्वयकर्ताको भूमिका एकीकृत पर्वतीय विकास सम्बन्धी अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) ले एक समारोहबीच काठमाडौं विश्वविद्यालयलाई हस्तान्तरण गरेको हो ।

हिमालयन युनिभर्सिटी कन्सोर्टियमको मुख्य उद्देश्य हिमालय क्षेत्रमा शैक्षिक सहकार्य, अनुसन्धान र क्षमता विकास बढाउने, पर्वतीय वातावरण, जलवायु, जैविक विविधता र दिगो विकासका विषयमा साझा अनुसन्धान परियोजना सञ्चालन गर्ने, विद्यार्थी, शिक्षक र अनुसन्धानकर्ताको आदान–प्रदान बढाउने र क्षेत्रीय ज्ञान, प्रविधि र अनुसन्धानका नतिजा साझा तथा हस्तान्तरण गर्ने रहेको छ ।
यसमा विश्वको जुनसुकै मुलुक र क्षेत्रका विश्वविद्यालय, अनुसन्धान केन्द्र, संकाय तथा शैक्षिक इकाइ, वातावरण, जलवायु र विकास सम्बन्धी थिङ्क–ट्याङ्क सदस्य बन्न सक्छन् । नेपालका त्रिभुवन विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय लगायत सदस्य छन् ।
एकीकृत पर्वतीय विकास सम्बन्धी अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) मा नेपाललगायत अफगानिस्तान, बंगलादेश, भुटान, चीन, भारत, म्यानमार र पाकिस्तान सदस्य छन् ।
टिप्पणीहरू