अघोर एमाले विद्या

अघोर एमाले विद्या

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा फर्कने भन्ने चर्चाले नेकपा (एमाले) कम्पायमान भएको छ । वास्तवमा एमालेमा यो कम्पन अनावश्यक हो । किनभने विद्यादेवी भण्डारी एमालेकै नेता हुनुहुन्छ । एमालेबाट उहाँ कहिल्यै बाहिर जानुभएको छैन ।

एमालेप्रतिको उहाँको निष्ठा अटल छ । कतिसम्म भने दुई–दुई पटक राष्ट्रपति हुँदासमेत पार्टीगत धर्म छोड्नुभएको थिएन । उहाँले त्यतिबेला आफूलाई देशको राष्ट्रपतिभन्दा पनि एमालेको राष्ट्रपति भनेर पुष्टि गर्न भरमग्दुर प्रयास गर्नुभएको थियो । एमालेप्रति यतिविधि निष्ठावान नेतालाई अहिले आएर एमालेकै राजनीति गर्न मिल्दैन भन्नु कसरी मनासिव होला र ?

एमालेको राजनीतिमा आएपछि उहाँको प्रमुख लक्ष्य भनेको पार्टी अध्यक्ष बन्ने नै हो । अध्यक्ष बन्न आवश्यक कमसेकम दुइटा योग्यता उहाँमा छ । पहिलो, उहाँ मदन भण्डारीकी श्रीमती हुनुहुन्छ । दोस्रो, उहाँ देशको पूर्वराष्ट्रपति हुनुहुन्छ । बरु एउटा कमीचाहिँ उहाँमा छ । त्यो हो, उखान भन्न नआउनु । उहाँलाई तुक्का हान्न आउँदैन । यो एउटा खुबीको कमीले भने उहाँलाई अध्यक्ष बन्नबाट रोक्न सक्छ । किनभने एमाले कार्यकर्तामा अब उखान सुन्ने बानी नै भइसक्यो । उखान भन्न नसक्ने मानिस पार्टी अध्यक्ष नबन्न सक्छ । कांग्रेसमा भए यो समस्या थिएन । त्यहाँ उखान भन्न नसके पनि सभापति बन्न सकिन्छ । अझ उखान त के, बोल्नै नजान्ने वा बोले पनि के बोलेको हो थाहै नहुने नेतालाई पनि कांग्रेसीहरू सभापति स्वीकार्न बेर लाउँदैनन् । तर, एमालेमा यस्तो सुविधा छैन । त्यहाँ उखान अनिवार्य नै छ । अध्यक्ष बन्ने हो भने विद्या कमरेडले उखान वाचनमा अलि बढी अभ्यास गर्नु आवश्यक छ । 

त्यसो त केपी ओलीलाई रोक्न उहाँ अहिले ७० वर्षे हदबन्दी लगाउने तयारीमा पनि हुनुहुन्छ । ७० कटेका नेता अध्यक्ष बन्न मिल्दैन भन्ने नीति पारित भएमा केपी ओली पुनः अध्यक्ष बन्न सक्नुहुन्न । तर, केपी ओलीले यसको काउन्टरमा अर्को नीति पनि ल्याइदिन सक्नुहुन्छ । अहिले सचिवहरू रिटायर्ड हुनेबित्तिकै दुई वर्षसम्म अर्को पदमा जानु हुँदैन भन्ने ‘कुलिङ पिरियड’ को चर्चा चलिरहेको छ । केपी ओलीले त्यो कुलिङ पिरियड सचिवलाई मात्र होइन, राष्ट्रपतिलाई पनि लागु हुन्छ भनेर यतातिरको विधेयकमा घुसाइदिन बेर छैन ।

विद्या भण्डारी राष्ट्रपतिबाट रिटायर्ड भएको एक वर्षै भएको छैन । दुई वर्षे कुलिङ पिरियड लागु भयो भने अर्को सालसम्म उहाँ पार्टीको अध्यक्ष बन्न सक्नुहुन्न । हुन त हो पनि, सचिवलाई कुलिङ पिरियड लागु हुन्छ भने राष्ट्रपतिलाई मात्र किन हुँदैन ? यो त मनासिब हो । अतः विद्या कमरेडले अलिकति यतातिर पनि ध्यान दिनुपर्ने हुन्छ कि ?
 

टिप्पणीहरू