अख्तियारलाई पुलिस प्यारो
बढुवा प्रहरीको, चलखेल मन्त्रीदेखि रातोघरसम्मको ! सन्दर्भ प्रहरीको एसपीबाट एसएसपीमा बढुवाको हो । मन्त्रीदेखि अख्तियारसम्मले बढुवामा आ–आफ्ना उम्मेदवारको नाम टिपाएका छन् । उनीहरूको उम्मेदवारका कारण संगठनको उम्मेदवार छुट्ने भएपछि तत्कालका लागि बढुवा प्रक्रिया नै स्थगन भएको छ ।
प्रहरीमा एसएसपीको झण्डै दर्जन पद रिक्त छ । तिनमा नियुक्तिको तयारीसँगै शक्ति केन्द्रमार्फत अत्यधिक दबाब आएपछि बढुवा प्रक्रिया रोक्नुपरेको स्रोतको भनाइ छ । बेलायतबाट भर्खरै पढाइ सकेर फर्किएका प्रकाश रानाभाटलाई बढुवा गर्न रातोघरबाट निकै दबाब आएको स्रोत बताउँछ ।
२०७५ फागुन ३ गते एसपीमा बढुवा भएका रानाभाटमाथि जिल्ला प्रहरी कार्यालय, धनुषाको प्रमुख हुँदा लागुऔषध मुद्दामा २०७७ फागुनमा पक्राउ परेका आरोपीहरूको मिसिल मिलेमतोमा कमजोर बनाएको गम्भीर आरोप लागेको थियो । सो आरोपमा उनीमाथि छानबिनका लागि महान्यायाधिवक्ताको कार्यालयले प्रहरी प्रधान कार्यालयलाई पत्राचार ग¥यो । त्यसपछि उनलाई धनुषाबाट मुख्यालय तानेर कार्य विभागमा काम गर्ने जिम्मेवारी दिइएको थियो ।
अख्तियार आयुक्त किशोरकुमार सिलवालले शाही थरका एसपीलाई बढुवाका लागि सिफारिस गरेको स्रोत बताउँछ । अर्का आयुक्त जयबहादुर चन्दले पनि नाम टिपाएको स्रोत बताउँछ । उनका उम्मेदवार महेन्द्रकुमार श्रेष्ठ हुन् । गृहमन्त्री रमेश लेखकको तर्फबाट पदमबहादुर बिष्ट र योगेन्द्रसिंह थापाको नाम गएको छ ।
स्रोतका अनुसार प्रहरीका सबै दर्जाको बढुवामा अख्तियार हावी हुन थालेका कारण योग्यता र क्षमता भएकाहरू पछि परिरहेका छन् । ‘सुशासनको कुरा गरेर अख्तियार थाक्दैन तर आफ्नो मान्छे हाल्न पनि छाड्दैन । जुनसुकै दर्जा होस्, अख्तियारलाई आफ्नो मान्छे हाल्नु छ । अनि उनीहरूले सरुवा र बढुवा दिलाएकाले संगठनलाई टेर्छन् ? देशमा सुशासन कसरी कायम हुन्छ ?’, स्रोतले भन्यो ।
अख्तियारका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीले पदको दुरूपयोग गर्दै इन्स्पेक्टर दानबहादुर थापामार्फत प्रहरीमा चलखेल गर्थे । हाल उनी पनि एसपी छन् । प्रहरीको सरुवा र बढुवामा मात्र नभई अधिकारीहरूलाई विदेश पठाउने कार्यमा समेत अख्तियारकै रुचि देखिन्छ ।
टिप्पणीहरू