बेचारा पाकिस्तान
दुःखको कुरा छ, भारतमा एअर इण्डियाको विमान दुर्घटना भएर पौने तीन सय मान्छेको ज्यान गयो । उडेर दुई मिनेटमै जहाज दुर्घटना भएको थियो । दुर्घटना कसरी भयो, अहिलेसम्म थाहा छैन ।
दुर्घटनाको खबरले सबैतिर शोक छ । तर उता पाकिस्तानतिर भने शोक होइन आतंक छ । भारतमा विमान दुर्घटना भएर पाकिस्तान आतंकित बनेको हो । पाकिस्तानलाई डर छ, भारतमा विमान खस्यो अब कतै नरेन्द्र मोदीले पाकिस्तानमा बम हान्ने त होइनन् ? भारतमा यो विमान त्यसै खसेको होइन, पाकिस्तानले खसालेको हो भन्दै बम हान्न थाल्यो भने रोक्ने कसले ?
हो पनि । विमान कसरी खस्यो अहिलेसम्म थाहा छैन । थाहा भएपछि अर्को बवण्डर निस्कन्छ । जस्तो कि सुरक्षा मामिलामा किन ध्यान दिइएन ? सरकार के हेरी बस्यो ? विमान नयाँ हो कि पुरानो ? पाइलट कस्तो हो ? के हो ? यो हो कि त्यो हो ? यसको जवाफ जसरी दिए पनि चित्त बुझ्दैन ।
बरु त्यसको सट्टा यो विमान पाकिस्तानले खसालेको भन्ने आरोप लगाएर दुई चार वटा मिसाइल हान्दियो भने कुरै खत्तम ! दुर्घटनाको कारण खोजिरहनुभन्दा पाकिस्तानलाई दोष दिनु सजिलो छ । अब मोदी परे एशियाका डोनाल्ड ट्रम्प । हान्न पनि के बेर ?
टिप्पणीहरू