एमाले र कांग्रेस गृह मन्त्रालय साट्दै

एमाले र कांग्रेस गृह मन्त्रालय साट्दै

‘भिजिट भिसा प्रकरण एक तीर, दुई शिकार त होइन ?’ बजेटलगत्तै अर्थ र गृह साँटासाँट गर्ने र उपप्रधानमन्त्री विष्णु पौडेललाई हटाउने प्रधानमन्त्री कार्यालयकै गोप्य योजनाअनुरूप गत ७ जेठमा सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर हाजिरी–जमानीमा छाडेको हो भन्छन्, गृहका केही अधिकारी । 

अहिले यो प्रकरणमा अघोषित ‘मानव तस्करी’ को लहरो गृहमन्त्री रमेश लेखकसम्म जोडिएको छ । लेखक मन्त्री भएपिच्छे उनको सचिवालयमा पुग्छन् बद्री तिवारी, जनक भट्टदेखि गणेशदत्त ओझा र विमल पौडेलहरू । यो प्रकरण बाहिरिनु अघिल्लो रात सहसचिव तीर्थ भट्टराई कास्कीको प्रजिअ बन्ने गरी गृहमा फर्काइनु र यसअघि भिजिट भिसा प्रकरणमा एक लाख धरौटी तिरेर उन्मुक्ति पाएका शाखा अधिकृत विमल पौडेललाई गृहको एउटा कोठाबाट अर्काे कोठामा सारिनुले पनि ‘दालमें कुछ काला’को शंकालाई बल पुर्‍याएको अख्तियार नेतृत्वको ठहर छ ।

बजेटपछि अर्थ मन्त्रालयको खासै काम हुँदैन । ‘मिस पबीजस्ता टिकटकेहरूले प्रधानमन्त्रीसँग हाँसोठट्टा गर्ने समय पाउँछन् तर अर्थमन्त्रीले निर्देशन लिन मध्यरात कुर्नुपर्छ, त्यो पनि उभिइ–उभिइ भेटेर फर्कनुपर्छ ।’ अर्थ र गृह साँट्ने खेलकै कारण बजेटकै मुखमा अध्यागमनमा अख्तियारको सरगर्मी बढेको कांग्रेसका एक नेताको बुझाइ छ । सायद यही कारण होला, अचेल गृहका कर्मचारीले मन्त्री रमेश लेखकको अनुहार देख्न नपाएको । प्रश्न छ– के कांग्रेसलाई गृह नफापेकै हो ? यसअघि बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर थुनिए । धरौटी बुझाएर उनी रिहा हुँदा एमालेका टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डेचाहिँ केन्द्रीय कारागारमै छन् ।

अहिलेसम्म कांग्रेसबाट जति पनि गृहमन्त्री बने, धेरैजसो मुद्दा मामिला र झमेलामा फसेका छन् । जस्तोः स्वर्गीय नेता खुमबहादुर खड्काले स्रोत खुलाउन नसकेको २ करोड ३६ लाख रूपैयाँ अवैध रूपमा आर्जित सम्पत्ति सरकारीकरण गर्ने काम अन्तिम चरणमा पुगेको छ । उनकै पथ पच्छ्याएका गोविन्दराज जोशीलाई पनि ०८१ साउन १३ गते भ्रष्टाचार मुद्दामा दोषी ठहर भई ९ महिना कैद सुनाइएको छ । बालुवाटारस्थित ललिता निवास जग्गा मुद्दा ०७६ माघमा विशेष अदालतमा दायर भएकोमा लामो समय फरार रहेका विजय गच्छदार शेरबहादुर देउवा प्रधानमन्त्री बनेकै भोलिपल्ट १० लाख धरौटी बुझाएर उम्किएका थिए । 

अध्यागमन अधिकृतको घाँटीमा पासो

गृहसचिव गोकर्णमणि दुवाडीको जोडबलमा त्रिवि अध्यागमन पुगेका एक अधिकृतले आफ्नै घरमा पासो लगाएर प्राण फालेको भेटिएको छ । गोकर्णमणि दुवाडी निर्वाचन आयोगमा हुँदा उनको सचिवालयमा थिए, प्रकाश भण्डारी । दुवाडी भूमि हुँदै गृहमा पुगेपछि उपनिर्वाचनताका भण्डारीलाई हुम्ला खटाइएको थियो कामु प्रजिअका रूपमा । उपनिर्वाचन सकाएर दुई हप्तामै गृह फर्किई सचिव दुवाडीको सचिवालयमा कार्यरत थिए । 

गोकर्णकै निगाहमा केही समयपछि त्रिवि अध्यागमन गए । उनै भण्डारीले भिजिट भिसा प्रकरण उत्कर्षमा पुग्दै गर्दा आत्महत्या गरेको गृहका अधिकारीहरूले बताए । भण्डारी आफैँले डोरी किनेर ल्याई भर्‍याङमुनि घाँटीमा पासो लगाएर प्राण त्यागेका हुन् । 

अफिसियल नभई पारिवारिक तनावका कारण उनले प्राण त्यागेको बताइन्छ । दुई छोरामध्ये एक जना दीर्घरोगी थिए । लामो समयदेखि छोराको पेटको उपचार गराइरहेका उनले जीवनदेखि नै हार मानेर त्रिवि अध्यागमन पुगेको एक महिना नबित्दै प्राण फालेका हुन् । 

(जनआस्था साप्ताहिकको जेठ १४ गतेको अंकमा प्रकाशित यस समाचार पुनः प्रकाशित गरिएको हो ।)

टिप्पणीहरू