फाइल पल्टाउने रवि स्वयं फन्दामा

फाइल पल्टाउने रवि स्वयं फन्दामा

सत्ता र शक्ति प्रयोग गर्न सक्ने हैसियतमा रहेको व्यक्तिले जो कसैलाई साँच्चै दुःख दिन चाह्यो भने केसम्म गर्ला भन्ने उदाहरण अनगिन्ती छ । त्यसैले त कतिपय टुंगिसकेका मुद्दा उधिन्ने र रिस उठेका सबैको सातो टिप्ने काम भइरहेको छ । पछिल्लो घानमा ओली सरकारद्वारा निद्रा बिथोलिएका एक जना पात्रको प्रसंग यहाँ उठाइएको छ । उनी हुन्, पूर्वप्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल । 

समाचार स्रोत भन्छ– हालै मुटुको शल्यक्रिया गराएर आराम गर्नुपर्ने अवस्थामा रहेका माधव नेपाललाई पीर थप्ने गरी उनको प्रधानमन्त्रीत्व कालमा भएको पतञ्जली योगपीठको जग्गा खरिद–बिक्री प्रकरणलाई उछाल्ने काम भइरहेको छ । जबकि त्यो मुद्दा अख्तियारले छानबिन र अनुसन्धान गरेर ०६९ मंसिर २५ गते नै टुंगोमा पुर्‍याइसकेको हो । त्यति मात्रै होइन, योगगुरु बाबा रामदेवको पतञ्जलीलाई सो जग्गासम्बन्धी मुद्दामा थप अनुसन्धान आवश्यक नरहेको पत्रसमेत अख्तियारले दिइसकेको छ । अर्थात् आरोपीहरूले क्लिनचिट प्राप्त गरिसकेको विषयलाई अहिले फेरि सतहमा ल्याएर दुःख दिने काम भएको पतञ्जलिसँग सम्बन्धित शालिग्राम सिंह र बालकृष्ण गुरुहरुको गुनासो छ । 

स्रोतका अनुसार माधव नेतृत्वको क्याबिनेटले पतञ्जली जग्गा प्रकरणमा गरेको निर्णयबाट आत्तिनुपर्ने अवस्था भने छैन । उनीहरूको तर्क के छ भने त्यसबेला पतञ्जलीले काभ्रेमा जुन प्रयोजनका लागि जग्गा खरिद गरेको थियो सो प्रयोजन अनुपयुक्त देखियो । हदबन्दी छुटमा किनिएको त्यस्तो जग्गा उद्देश्यअनुसार काम लाग्ने नदेखिएपछि उनीहरूले सरकारसँग त्यो बेचेर नयाँ किन्ने अनुमति मागेका थिए । कानुनतः हदबन्दी छुट दिएको जग्गा बिक्री गर्न पाइने अवस्था नहुँदा क्याबिनेटले यदि सो जग्गाभन्दा बढी मूल्यमा अन्यत्र खरिद गर्ने भए काभ्रेको जग्गा बिक्री गर्न पाउने सशर्त स्वीकृति दिएपछि उनीहरूले त्यो जग्गाको बिक्रीबाट प्राप्त रकमभन्दा लगभग पाँच गुना बढी रकम तिरी अर्को ठाउँमा किने । नयाँ जग्गामा पूर्ववत योजनाअनुसार शिक्षालयदेखि आयुर्वेदमा प्रयोग हुने वनस्पतिहरूको खेती समेत भइरहेको छ । यी सबै कुराको अनुसन्धानपछि अख्तियारले यो प्रकरणलाई टुङ्गोमा पुर्‍याए पनि पटकपटक यसलाई चर्चाको विषय बनाउने काम भने वर्तमान प्रधानमन्त्री केपी ओलीकै सक्रियतामा भएको माधवकुमार नेपालको पार्टीका नेताहरु बताउँछन् । 

त्यसबेला माधवकुमार नेकपा (एमाले)कै नेता थिए र उनी नेतृत्वमा रहेको सरकारमा अर्थमन्त्री थिए अहिले एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे, पूर्व राष्ट्रपति विद्या भण्डारी (रक्षामन्त्री) र महासचिव शंकर पोखरेल (तत्कालीन सञ्चारमन्त्री) । त्यसैगरी त्यस बेलाका भूमिसुधारमन्त्री विजय गच्छदार हाल सत्तारूढ दल नेपाली काँग्रेसमै छन् भने अन्य सरोकारवाला मन्त्रीसमेत एमालेमै छन् । तथापि प्रचण्ड नेतृत्वको सरकारमा गृहमन्त्री रहेका रवि लामिछानेसमेत पुरानो फाइल पल्टाउने र भएभरका भ्रष्टाचारीको मुद्दा उल्टाउने भनेर स्टन्टबाजीमा लागे र अख्तियारमा नयाँ उजुर हाल्न लगाएर माधव नेपालहरुको बयान लिने तहमा पु¥याए । केपी ओलीको साथ लिएर माधवलाई सेक्न खोज्ने रवि अन्ततः आफ्नो सान्दर्भिकता सकिएपछि स्वयं फन्दामा परेको त जगजाहेरै छ ।
 

टिप्पणीहरू