राजा फर्काउन अमेरिकामाथि आरोप

राजा फर्काउन अमेरिकामाथि आरोप

अमेरिकाले छिमेकीका केही भू–भाग मिसाएर नयाँ क्रिश्चियन देश जन्माउन लागेको नवराज सुवेदीको दावी छ ! समस्या राजावादीहरू आफैंमा छ, आपसमा एकता छैन, एक अर्कालाई खुइल्याउन बाँकी पनि राख्दैनन् । पूर्व राजा ज्ञानेन्द्रले सोल्टी र निर्मल निवासमा बोलाएर लञ्च खुवाउँछन् कि भन्दै दैलो कुरी बस्छन् । 

राजतन्त्र मास्ने, गणतन्त्रमा पस्ने कमल थापादेखि राजेन्द्र लिङेदनसम्मलाई ज्ञानेन्द्रले नपत्याएको वर्षौं भइसक्यो । यसै भ्याकुममा उमेरले डिलैमा पुगेका नवराज सुवेदीले आजकल भारत र बंगलादेशभन्दा पर अमेरिकासम्मको ‘योजना’ सुनाएर पूर्व पञ्चहरूलाई तरंगित बनाउन थालेका छन् । पूर्वराजाद्वारा गत चैत ४ गते ‘संयुक्त जनआन्दोलन समिति’ को संयोजक बनाइएका उनै ८६ वर्षीय सुवेदीले निकटस्थहरूलाई सुनाएका सनसनीपूर्ण सूचनाअनुसार अमेरिका नयाँ क्रिश्चियन देश बनाउने तयारीमा छ र यसलाई असफल पार्नकै निम्ति पनि हिन्दु राजतन्त्रवादीहरू एकताबद्ध नभई भएको छैन । 

‘बेलैमा नेपालमा राजसंस्था फर्काउन भूमिका नखेले भारत, बंगलादेश, र म्यान्मारको केही भाग समेटेर क्रिश्चियन देश बनाउने अमेरिकी खुफिया एजेन्सी सिआइएको योजना रहेको दावी सुवेदीले निकटस्थहरूसँग गर्नुभएको छ,’ स्रोत भन्छ, ‘ज्ञानेन्द्रले संयोजक बनाएपछि भेटघाटमा उहाँले निकटसँग यस्तो सुनाउने मात्रै होइन, राजसंस्था ल्याउनको लागि भेटघाटका श्रृंखला चलेको दावीसमेत गर्न थाल्नुभएको छ । ’

चुनाव र सत्ताको गुलियोमा आफूलाई फाल्नेसँग मिलेपछि दाहिना हुन पाएका सुवेदीले यसरी धाक लगाउन पाउँदा थापा र लिङदेनलाई त झन् खसाल्ने हिसाबलेसमेत बोल्न थालेका छन् । ‘राजा फाल्नेसँग कमल थापाले टाउको जोडेपछि पूर्व राजाले ४ वर्ष भेट दिनुभएको रहेनछ । अर्कोतिर राजेन्द्र लिङदेनको हालत पनि उही । उहाँले खुलस्त भेट नपाएको दुई वर्ष भइसकेछ, गत हप्ताको भेटमा सुवेदीको दावी सुनाउँदै स्रोतले भन्यो, ‘यसैले मैले दुवैलाई केही समय अगाडि राजा ज्ञानेन्द्रसँग दर्शनभेट गराइदिएँ । त्यसयता दुई तीनपटक दुवैले भेट्ने स्थिति बनेको छ भन्दै हुनुहुन्थ्यो । ’ केशरबहादुर विष्टलाई भने ज्ञानेन्द्रले ८ महिनाजति अगाडि भेट दिएको सुवेदीले बताउने गरेका छन् । 

‘दुई भाइले भेट्न खोज्ने तर दर्शनभेट कहिल्यै नपाउने भएको रहेछ । दुवैलाई केही समय अघि भेटाएँ । सबैलाई मिलाएको हुँ भन्दै हुनुहुन्थ्यो,’ स्रोतको भनाइ छ, ‘पछिल्लो निर्मल निवासको भेट, नगरकोटको वान टु वान वार्ता र जेठ ८ गते होटल सोल्टीमा भएको लञ्च मिटिङसम्म आइपुग्दा राजसंस्था अब फर्किन्छ भनेर उहाँ ढुक्क हुनुहुन्छ । ’

अघिल्लोपटकको आन्दोलनले हिंसाको सबै रेकर्ड पार गरेपछि राजावादी थप तनावमा नभएका होइनन् । गत बिहिबार मात्रै पनि राष्ट्रिय मानव अधिकार आयोग पुगेर सबै राजावादीले आन्दोलन हिंसात्मक हुँदैन भनी निवेदन नै हालेका छन् । तर जेठ १५ गते, त्यो पनि गणतन्त्र दिवसकै दिन पारेर उनीहरूले काउण्टरस्वरूप झन् पहिलाभन्दा कडा आन्दोलन थाल्ने तयारी गरेको स्रोत बताउँछ । 

यसकै तयारीका लागि ज्ञानेन्द्रले जेठ ८ गते राजेन्द्र लिङदेन, कमल थापा, नवराज सुवेदी र केशरबहादुर विष्टसँग आफ्नै ठूलो लगानी रहेको होटल सोल्टीमा लञ्च मिटिङ गरेका थिए । ज्ञानेन्द्रले सुवेदीको छातामुनी बसेर आन्दोलनमा उत्रिन चारै जनालाई कसमसमेत खुवाउन खोजे । तर लिङदेनले पार्टीमा भने एकपटक मात्रै सुवेदीलाई साथ दिने बताउँदै आएका छन् । रवीन्द्र मिश्रदेखि धवलसमशेरको पेलानमा परेका राजेन्द्र नवराज सुवेदीको पछाडि लाग्ने पक्षमा छैनन् । 

‘त्यतिखेरै पूर्व राजदूत श्यामशरण भारतबाट आएका थिए । हुनचाहिँ उनी गणतन्त्र टिकाउन आएको रे ! तर टिकाउन सक्ने स्थिति नदेखेपछि फर्किएको दावीसमेत राजावादीले गर्ने गरेका छन््,’ स्रोत भन्छ, ‘पहिले मनमोहन सिंह प्रधानमन्त्री हुँदा तिनी जलवायु सल्लाहकार भएका थिए । यसपटक पनि इसिमोड स्पोन्सर्ड सगरमाथा संवादको कार्यक्रममा आए अनि अन्नपूर्ण बेसक्याम्प घुम्न गए । उनले राजसंस्थाको मााहोल छैन भनेर गए पनि राजावादी उत्साही हुन छोडेका छैनन् । ’

यतिसम्म कि भारतको पूरा समर्थन राजा ल्याउनमा रहेको जिकिरसमेत गरिरहेका छन् । ‘आन्दोलन भिषण हुन्छ । धेरै मान्छे मर्न पनि सक्छन् । आन्दोलन विशाल गर्ने गरी बाहिरबाट मान्छे उपत्यका उतारिसकेका छन् भन्छन्,’ स्रोत भन्छ, ‘राप्रपा र राजावादीले गर्ने आन्दोलनलाई पुलिसले रोक्न सक्छ भनेर चलाखी गर्दै अगाडि नै बाहिरबाट सयौं बसमा मान्छे ओसारिसकेका छन् । ‘

श्यामशरण आएकै दिन भारतबाट प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षा सल्लाहकार अजित डोभालमातहतका अफिसर अबदेश माथुर पनि नेपाल आएको सूचना छ । वनमन्त्री भूपेन्द्र यादवसँगै एयर इण्डियाको फ्लाइटबाट दिउँसो डेढ बजे आएका माथुर सोझै सोल्टी होटल पुगेर ज्ञानेन्द्रसँग ४५ मीनेट बिताएका थिए । 

श्यामशरण र माथुर मात्रै होइन पछिल्लो समय भारतबाट म्याराथन शैलीको दौडधूप चलिरहेको छ । यसबीच विजय चौथाइवाले आए । भगतसिंह कोशियारी र भारतीय जनता पार्टीका डा. विजय जोली पनि आएर दर्जनौं नेतालाई भेटे ।

जोलीले राष्ट्रपति रामचन्द्र पौडेलदेखि उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई घरमै गएर भेट्ने काम गरे, भारतसँग निकट सम्बन्ध बनाएका कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महत, डा.शेखर कोइराला, डा. मीनेन्द्र रिजाल, राजेन्द्र बजगाईंसम्मलाई पनि भेटे । भारतसँग नजिकको सम्बन्ध राख्ने कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, सुनिल शर्मा, एनपी साउदसँग पनि जोलीको भेट भयो । कांग्रेस बागमतीका सांसद रामकृष्ण चित्रकार, बागमतीकै सांसद सविता खड्गी, एमालेकी बालकुमारी विश्वकर्मा, जनमतका सांसद अब्दुल खानसँग पनि भेटे । 

ऋषि धमला र उनकी पत्नी एलिजा गौतमलाई भेटको प्राथमिकता दिँदा सत्ताकै नेतृत्व गरिरहेको एमालेका नेतालाई भने खास भेटेननन् । पूर्व विदेश विभाग प्रमुख राजन भट्टराईलाई मात्रै समय दिए ! त्यसबाहेक मोतिलाल दुगड, श्रममन्त्री शरद्सिंह भण्डारीसँग लञ्च बैठक गरे !
 

टिप्पणीहरू