एमसीसीसहित अमेरिकी अनुदान बन्द हुँदा अब के हुन्छ नेपालको बाटो ?
अमेरिकी अनुदान कटौतीपछि नेपालमा बहुआयामिक प्रभाव पर्ने विज्ञहरुले औँल्याएका छन् । सेन्टर फर पोलिसी रिसर्चद्वारा आज आयोजित 'अमेरिकी अनुदान/सहयोग र सहकार्य कटौती र नेपालमा पर्ने प्रभाव' विषयक अन्तरक्रियाका सहभागीहरुले बदलिँदो विश्व व्यवस्था र बैदेशिक सहायता रोक्ने ट्रम्प प्रशासनको निर्णयले नेपालको अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पर्ने बताएका हुन् ।
पूर्वअर्थमन्त्री तथा सत्तारुढ नेकपा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमसीसीलगायत अमेरिकी सहयोग काटिँदा नेपाल अप्ठेरोमा परेको र यसले सिंगो राजनीति नै प्रभावित हुनसक्ने धारणा राखे । उनले भने,‘अहिले एमसीसी रोकिनु नेपालका लागि कास्टिङ हो । अमेरिकाले दिने भनेको ५५ करोड डलरको करिब ७५ अर्ब रुपैयाँ नेपाली पैसा रोकिएको छ । त्यसमा नेपालले १४ अर्ब हाल्ने भनेको थियो । तर,२७ अर्ब पुग्दा १०२ अर्बको परियोजना रोकिने भयो ।’
पाण्डेले लागिसकेका तीनवटा ठेक्काको काम बढाउनैपर्ने बाध्यतामा नेपाल रहेको पनि बताएका छन् । ‘तीन वटा ठेक्का लागेको छ । त्यसमा मात्रै पनि नेपालले लगानी गर्नुपर्यो । १९ महिना सकियो । अबको ३ वर्षमा नेपालले प्रतिवर्ष ३४ अर्ब निकाल्नुपर्छ', उनले जटिलता औँल्याउँदै अगाडि भने, 'नत्र ठेकेदार अन्तर्राष्ट्रिय अदालत जान्छ । क्षतिपूर्ति दिनुपर्ने हुन्छ । जसो गर्दा पनि हामीले नै आर्थिक भार खेप्नुपर्ने अवस्था छ ।’

अमेरिकाले युएसएआइडीको पनि सहयोग रोकेको बताउँदै पूर्वअर्थमन्त्री पाण्डेले थप ५ वर्षका लागि भएको ९० अर्बको सम्झौता अलपत्र परेको बताए । 'त्यो रोकिएपछि कयौं कार्यालय बन्द भए,ताला लागे । जहाजदेखि होटलसम्म असर पर्यो ।',उनले भने ।
त्यस्तै,अमेरिकाले अन्य देशलाई कर थोपर्दा नेपाललाई केही पनि फाइदा नहुने उल्लेख गर्दै उनले भने- 'हामी नेपाली त गफाडी छौँ,कागजको लाभले केही हुँदैन । तत्काल हामीले कति वटा उत्पादन अमेरिका पठाउन उद्योग खोल्न सक्छौं ? 'पाण्डेले अमेरिकी नीतिले नेपालको समग्र राजनीतिमा गहिरो प्रभाव पर्ने खतराप्रति सतर्क गराए ।

त्यस्तै,अर्थविद केशव आचार्यले अमेरिकी सहायताका सकारात्मक र नकारात्मक दुवै प्रभाव नेपालमा पर्ने धारणा राखेका छन् । यसले अवसर र चुनौतिको दोसाँधमा उभ्याईदिएको उल्लेख गर्दै उनले मुलुकलाई स्वाधिन अर्थतन्त्रको दिशामा लैजान सक्नुपर्नेमा जोड दिए ।

टिप्पणीहरू