‘तीन दलका कार्यकर्तालाई डिमेन्सिया’
फाइल फोटो
‘जेनजी फ्रन्ट नेपाल’की संयोजक रक्षा बमले तीन दलका कार्यकर्तालाई डिमेन्सिया (बिर्सन रोग) भएको टिप्पणी गरेकी छन् । उनले नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीका कार्यकर्तालाई आगामी निर्वाचनसम्म उपचार गराइसक्न सुझाव दिएकी हुन् ।
आगामी निर्वाचनमा प्रत्यक्षतर्फको उम्मेद्वारको लागि कांग्रेस सभापति शेरबहादुर देउवा डडेल्धुराबाट एकल सिफारिस भएको र एमाले अध्यक्ष केपी शर्मा ओलीले पुनः नेतृत्वमा दोहोरिन हानथाप गरिरहेको पृष्ठभूमिमा बमको यस्तो प्रतिक्रिया आएको हो । माओवादीले पनि उही पात्र र उही चरित्र बोकेर होडिङ बोर्ड मात्र परिवर्तन गरेको उनको बुझई छ ।
‘उल्लेखित पार्टीका कार्यकर्ताहरूलाई डिमेन्सिया भएको छ, जुन प्रायः वृद्धावस्थामा हुने एक प्रकारको बिर्सने रोग हो’, उनले भनेकी छन्, ‘ती नेताहरूको कारण यो देश भ्रष्टाचारको चंगुलमा परेको उनीहरूले बिर्सिसकेका छन्, देशको भविष्य नै कसरी ओझेलमा परेको छ, सायद उनीहरू सम्झनै सक्दैनन्।’
बमले तीन दलका कार्यकर्तालाई डिमेन्सिया भएको पुष्टी हुने आधार भन्दै केही प्रश्न समेत गरेकी छन् । ‘यदि उनीहरूले सबै कुरा बिर्सिएका थिएनन भने उनीहरू कसरी ती नेताहरूको कुकर्म आफ्नो टाउकोमा बोक्न तयार हुन सक्छन ?’, उनको जिज्ञासा छ, ‘एमाले अध्यक्षका त्यस्ता छुद्र र तुच्छ टिप्पणीमा ताली बजाउँदै गर्दा के ती कार्यकर्ताहरूलाई लाज लाग्दैन होला ?’
आगामी फागुन २१ गते निर्वाचन मात्रै नभइ आम जनताको विवेक परिक्षण हुने अवसर पनि रहेको बमको तर्क छ । ‘कुन शानले र कुन अभिमानको दम्भ होला कि डडेलधुरा अझै पनि शेरबहादुर देउवालाई भोट हालेर जिताउन तम्तयार छ ?’, उनले अघि भनेकी छन्, ‘भदौ २४ का दिन कांग्रेस सभापतिको घरमा जलेको पैसाको बिटो देख्दा डडेलधुराबासीलाई आफैंले हालेको भोटसँग गुनासो भएन होला ?’
टिप्पणीहरू