काठमाडौँमा रक्ताम्यकाे खतरा : विप्लव
फाइल फोटो
नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द विप्लवले अहिलेकै अवस्थामा निर्वाचन भए काठमाडौँका सडक रक्ताम्यकाे खतरा रहेको बताएका छन् । राष्ट्रिय संकट र विश्वविद्यालयको भूमिका अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले फागुन २१ गते तोकिएको चुनावको नतिजा सार्वजनिक भएको भोलिपल्टै त्यो खतरा आउनसक्ने बताएका हुन् ।
विभिन्न राजनीतिक दल र जेनजी समूहहरु अझै पनि चुनाव स्वीकार गर्न तयार नरहेको अवस्थामा सरकारले जबर्जस्ती चुनाव गराए अर्को ठूलो विध्वंश मच्चिने विप्लवको विश्लेषण छ । ‘भदौ २४ गते लुटिएका लामा हतियार फिर्ता भए पनि सयौँ छोटा हतियार अझै भेटिएका छैनन्, यो हतियारको मात्रै कुरा हैन, सुरक्षा संयन्त्रको मनोविज्ञानको कुरा हो’, उनले भने, ‘यस्तै अवस्थामा चुनाव हुने हो भने त अझ अस्थिरता बढ्ने पो देखिएको छ, हामी पनि चुनावमा जाने भनेका छौँ, तर जनताको मत नै तितरवितर हुने अवस्था देखिन्छ ।’
भूमिगत हुँदै खुला राजनीतिमा आएको नेकपालाई पहिलोपल्ट चुनावमा उतार्न लागेका विप्लवले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति सहानुभूति पनि प्रकट गरे । सरकारले ओलीलाई पक्राउ गरेमा आगामी फागुन २१ गते चुनाव कुनै पनि हालतमा सम्भव नहुने उनको ठोकुवा छ । ‘मुलधारको एउटा पार्टीको शीर्ष नेतालाई समातेर चुनाव गराउछु भन्ने हो भने यो सरकारले त्यो कल्पना नगरे पनि हुन्छ’, उनको दावी छ, ‘भदौ २३ र २४ गते देशले जुन क्षति भोग्नुपर्यो, त्यो भन्दा ठूलो क्षति यहाँ हुनसक्छ ।’
विप्लवले दलहरुले आफ्नो विचार र सिद्धान्त संशोधन गर्नुपर्ने बेला आएको पनि बताए । ‘हिजोकै नीतिले अब देश चलाउँछु भन्दा मजाक जस्तो हुन्छ, युवाहरु के चाहन्छन्, समयले के माग गरेको छ, त्यो कुरामा हामी सचेत नहुने हो भने देश नै नरहलाको अवस्थामा छ’, उनले थपे ।
टिप्पणीहरू