च्यासलमा बैठक, थापागाउँमा मार्चपास
नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन उद्घाटनका लागि केही घण्टा बाँकी रहँदा दुवै पक्ष शक्ति प्रदर्शनको तयारीमा लागेको छ ।
केपी शर्मा ओलीको विकल्प नदेख्ने संस्थापन पक्षले युथ भोलेन्टियरको नाममा युवा परिचालनलाई विशेष महत्व दिइरहँदा इतर खेमाले पनि युवा भेला गरेको छ । सचिवालय बैठक शुरु हुनै लाग्दा सो समूहका युवाले थापागाउँस्थित मदन भण्डारी फाउन्डेशनको कार्यालयदेखि पार्टी मुख्यालयसम्म मार्च पास गर्न लागेको छ ।
स्थायी समिति सदस्य कर्ण थापाले मार्चको कमाण्ड गर्नेछन् । जनताको बहुदलीय जनवाद (जबज) रक्षाका लागि युवा परिचालनमा जोड दिएको यो समूहले आफूविरुद्ध संस्थापनबाट हुनसक्ने गतिविधिमाथि निगरानी गर्ने छ ।
उता, अध्यक्ष ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल महाधिवेशन भाँड्ने खेलमा लागेको आरोप लगाएका छन् । दुई जनाको नाम नै किटेर उनीहरूविरुद्ध सशक्त भएर लाग्न उनले कार्यकर्तालाई निर्देशन दिएको बताइएको छ।
हिजो गुण्डु पुगेका एक महाधिवेशन प्रतिनिधिका अनुसार ओलीले भण्डारी र पोखरेलले व्यर्थमा कार्यकर्ता भड्काइरहेको बताएका थिए । ‘उनीहरु जसरी पनि महाधिवेशन भाँड्ने दाउमा छन्’, अध्यक्षको भनाइ उदृत गर्दै ती प्रतिनिधिले भने, ‘उनीहरुलाई रोक्न के-के गर्नुपर्छ, तपाईंहरू सशक्त भएर लाग्नुस् ।’
टिप्पणीहरू