आन्दोलनको सफलता

विभिन्न माग राखेर आन्दोलन गरिरहेका शिक्षकलाई आन्दोलनको बीसौं दिन प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा गज्जबको कुरा दिनुभयो– शिक्षामन्त्रीको राजीनामा । आन्दोलनरत शिक्षकतिर शिक्षामन्त्रीको राजीनामा हुर्र्याउँदै केपी शर्मा ओलीले भन्नुभयो, ‘लौ शिक्षक हो, यो लिएर जाओ ! माग पूरा नगर्ने शिक्षामन्त्रीको राजीनामा नै तपाईंहरूलाई दिएको छु । लौ, यो लिएर घर फर्कनु ।’
शिक्षक ट्वाँ परे । भने, ‘यसको के काम ? हामीले शिक्षामन्त्रीको राजीनामा त मागेकै थिएनौं ।’प्रम ओलीले भन्नुभयो, ‘होऽऽ मेरो प्रश्न यहींनिर हो । मागेको छैन भने किन नमागेको ? राजीनामा नमागेकै कारण तपाईंहरूको माग पूरा नभएको हो । मागेको भए उहिल्यै पूरा भइसक्थ्यो । जे होस्, ढिलै भए पनि शिक्षामन्त्रीको राजीनामा आएको छ, तपाईंहरूलाई बधाई ! शिक्षक आन्दोलन सफल भयो । आन्दोलन सफल भएकोले म पनि सफल भएँ ।’
मागेको अर्कै हो । पाएको अर्कै छ । अहिले शिक्षकलाई लागिरहेको छ, कतै आन्दोलन शिक्षकले गरेको भए पनि सफलचाहिँँ ओली हुनुभयो कि क्या हो ?
टिप्पणीहरू