माइक्रो बस र स्कुटर ठोक्कियो, दुई जनाको निधन

तनहुँमा माइक्रो बस र स्कुटर एकापसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ । भानु नगरपालिका–१०, नेपालडाँडास्थित डुम्ने बेशीशहर सडकखण्ड हुँदै लमजुङ गइरहेको बा. २ ख ४०२२ नम्बरको माइक्रो र विपरीत दिशाबाट आइरहेको ग. २६ प ४०५८ नम्बरको स्कुटर ठोक्किएको हो ।
स्कुटरको पछाडि बसेका मनाङको नासों गाउँपालिका–८, घरका ४० वर्षीय मन घले र माइक्रोमा सवार लमजुङको बेशीशहर नगरपालिका–८, बस्ने ३२ वर्षीया अनिता थापा श्रेष्ठको निधन भएको प्रहरीले जनाएको छ । उनीहरुको उपचारको क्रममा निधन भएको हो ।
दुर्घटनामा स्कुटर चालक लमजुङका ४१ वर्षीय दिपेन्द्र श्रेष्ठसहित १४ जना घाइते भएका छन् । उनीहरुको अहिले विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।
टिप्पणीहरू