कारले हान्दा प्रहरी हवल्दार घाइते
ड्युटीका क्रममा कारको ठक्करबाट ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गका हवल्दार पर्शुराम ठाकुर घाइते भएका छन् । मंसिर १६ गते काठमाडौं महानगरपालिका–२६ मा कारले उनलाई ठक्कर दिएको थियोे ।
नारायणहिटी दक्षिण गेटबाट केशरमहल भएर लैनचौरतर्फ जाँदै गर्दा उनलाई वडा नम्बर–२९ का ६६ वर्षीय सुरेजराज कालिकाले चलाएको बा. प्र ०१–०३० च २३४८ नम्बरको ईभी प्राइभेट कारले ठक्कर दिएको थियो । कार अनियन्त्रित भई ठक्कर दिएकोमा ड्युटीमा खटिएका हवल्दार ठाकुर र सडकपेटीमा हिँडिरहेका भारतको मेहेनपुरका ३४ वर्षीय शेख साकिर घाइते भएका थिए ।
साकिरको उपचार क्रममा मृत्यु भएको छ । यता,हवल्दार ठाकुरलाई राष्ट्रिय ट्रमा सेन्टरमा सामान्य उपचारपश्चात् महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल रिफर गरिएको थियो । उनी हालै अस्पतालबाट डिस्चार्ज भएका छन् । चालक र उनकी श्रीमती राधा सिम्खडा कालिकाको पिपुल्स अस्पतालमा उपचार भइरहेको छ भने गाडी प्रहरीको नियन्त्रणमा छ ।
दुवैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनामाथि थप अनुसन्धान गरिरहेको छ ।
टिप्पणीहरू