मापसेपछि सवारी चलाउने लुम्बिनीमा धेरै
मादक पदार्थको सेवन गरेर सवारी साधन चलाउँदा पछिल्लो एक महिनामा दुई सय बढी दुर्घटना भएको छ । कात्तिकमा २५० सवारी साधन दुर्घटनामा परेको हो । दुर्घटनामा ११ जनाको ज्यान गएको छ भने ३७५ जना घाइते भएका छन् । सातमध्ये लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै सवारी दुर्घटना भएको नेपाल प्रहरीले जनाएको छ ।
प्रहरीबाट प्राप्त तथ्याङ्कअनुसार लुम्बिनीमा मापसेका कारणले १०३ सवारी दुर्घटनामा परेको छ । सो दुर्घटनामा सात जनाको मृत्यु हुँदा घाइते १६३ रहेका छन् । त्यसपछि काठमाडौं उपत्यका रहेको छ । काठमाडौं, भक्तपुर र ललितपुरमा मापसे गरेर सवारी चलाउँदा ५७ दुर्घटना भएको छ । जसमा एक जनाको ज्यान गएको छ भने घाइतेको संख्या ७४ रहेको छ ।
कोशी प्रदेशमा कात्तिकमा ४१ सवारी दुर्घटनामा परेको छ । त्यहाँपनि एक जनाको ज्यान गएको छ भने ६१ जना घाइते भएका छन् । मधेश प्रदेशमा २० सवारी दुर्घटना हुँदा एकको मृत्यु र २८ घाइते भएका छन् । बागमती प्रदेशमा १२ सवारी दुर्घटना भएकोमा मृतक एक र घाइते २२ रहेका छन् । कर्णाली प्रदेशमा ६ सवारी साधन दुर्घटना भएको छ ।
त्यसमा १० जना घाइते हुँदा कसैको ज्यान भने गएको छैन । सुदूरपश्चिम प्रदेशमा सात सवारी दुर्घटनामा पर्दा घाइते हुनेको संख्या ११ रहेको छ ।
टिप्पणीहरू