अटेरी ‘राजा’

अटेरी ‘राजा’

नयाँ वर्षका पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको शुभकामना सन्देशको श्रव्यदृश्य भाग जुन स्टुडियोमा खिचेर प्रसारण गरिएको छ, त्यसको पृष्ठभूमिमा उनलाई ‘श्री ५ महाराजाधिराज’ भनी उल्लेख गरिएको छ ।   ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट नयाँ वर्ष २०८२ को अवसरमा बक्सेको शुभकामना’ भन्ने वाक्यांशले उनी र उनबाट नेपाली जनतालाई (धन्न यसपालि ‘प्यारा देशवासी’ भन्ने वाक्यांश परेको छैन) शुभकामना दिलाउन व्यवस्थापन गर्ने समूह असंवैधानिक, अवैधानिक शब्दावली नै प्रयोग गरेर उनलाई अझ पनि राजा नै भएको हठ गर्छन् भन्ने बुझिन्छ । 

राजा र हिन्दू राज्य पहिले पनि थियो र अनन्तसम्म रहन्छ भन्ने समूहले अझै पनि जति पढेलेखेका हुन् वा राजनीतिको खेलाडी हौँ भनी जिकिर गरेका हुन्, वर्तमान ‘नेपालको संविधान’ लाई पटक्कै स्विकारेको देखिएन ।   पूर्णाधिकारसहितको राजतन्त्र होस् वा संवैधानिक राजतन्त्रका बेला होस्, राजा र राजदरबार जे लेख्थे वा उल्लेख गर्थे, राजतन्त्रको पूर्ण उन्मूलन भएको १७ वर्ष हुँदा पनि आफूलाई राजा नै हुँ भन्ने वा भनाउने भ्रममा किन उनी र उनका हिमायतीहरू छन् भने, श्रीपेच खोसिएर नारायणहिटी सङ्ग्रहमा पुग्दासमेत उनी र उनका समूह अलिकति मान्न नै चाहँदैनन् । 

हुन पनि हो, राजतन्त्र अन्त्यको दिन उनले मागेको दरबारका ठाउँमा दरबार नै दिइएको थियो नागार्जुन दरबार र उनकी माता पनि महेन्द्र मञ्जिलमै बस्न चाहेर हालसम्म पनि त्यहीँ ‘राज गरिबक्सेको’ छ । एउटा समूहले उनको फिर्तीका लागि गरेको जबर्जस्तीपनलाई उनले ‘जागरुकता’ भन्ने संज्ञा दिएका छन् र त्यसप्रति उनी अत्यन्त सकारात्मक देखिन्छन् । 

नेपालको राजसंस्था अद्यापि जीवित छ र सक्रिय छ भन्ने भाव र भान उनले मुलुकमा व्याप्त अशान्ति, अराजकता, निराशा  र असन्तुष्टिबाट नेपाली जनतालाई मुक्त गर्न आफू नै सक्षम रहेको र त्यसमा राजसंस्थाले जहिल्यै योगदान पुर्याएको भनी बताएकाले पनि छर्लङ्ग छ । जनभावनाबमोजिम चल्ने बहुदलीय प्रजातन्त्र र संवैधानिक राजसंस्थाको परम्परा आफ्नो मान्यता बताए पनि २०५९ असोज १८ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई अक्षम भनी लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनाउने र २०६१ माघ १९ गते पूरै शासनसत्ता हातमा लिएर सञ्चार क्षेत्र बन्द गर्ने, राजनीतिक दलका नेताहरुलाई थुन्ने, सञ्चारगृहका समाचारमा आफैँले सम्पादन गर्ने जस्तो निरङ्कुशतन्त्र लादेको कुरा चाहिँ भुसुक्कै बिर्सेछन् । त्यही उच्छुङ्खल र हिंसामय गतिविधिलाई नै जनभावना भन्ने बुझेर उनले मुलुकको समग्र संरचनामा नै हेरफेर गर्नुपर्ने  बताएर गणतान्त्रिक राज्य व्यवस्थाको उल्टाइको माग गरेको पनि स्पष्ट छ ।

राजतन्त्रको पूर्ण उन्मूलन भएको १७ वर्ष हुँदा पनि आफूलाई राजा नै हुँ भन्ने वा भनाउने भ्रममा किन उनी र उनका हिमायतीहरू छन् भने, श्रीपेच खोसिएर नारायणहिटी सङ्ग्रहमा पुग्दासमेत उनी र उनका समूह अलिकति मान्न नै चाहँदैनन् । 

गत महिना फागुन अन्तिममा पोखराबाट निर्मल निवास फिर्तीमा उनका अनुयायीहरूले गरेको स्वागत र चैत १५ गते गरिएको आततायी हिंसालाई नै बदलिँदो जनचाहनाका रूपमा अथ्र्याएर गलत भ्रममा बाँचिरहेको यथार्थ पनि छर्लङ्ग छ । दुई हप्ताअघिको हिंसा, आगजनी, तोडफोड र मानवीय क्षतिप्रति यतिबेला आएर दुःख व्यक्त गर्नु पनि उनको अटेरीपन देखिन्छ । जसको पुनःस्थापनाका लागि त्यत्रो दुःखद घटना भयो, त्यतिबेलाको आलो घाउमा मल्हम नदलेर नयाँ वर्ष आएपछि बोलुँला नि भन्दै दिएको उनको सन्देशले उनको कविहृदय परिस्थितिप्रति अलिकति पनि संवेदनशील रहेनछ भन्ने स्पष्ट हुँदैन र ?

उनले आफूले भन्ने गरेको नेपाली जनताको ‘जागरुकता’ बाट नयाँ वर्षमा नेपाली जनताको चाहनानुसारको परिणाम हासिल हुने विश्वास थपिएको जनाउँदै यस वर्ष नेपाली इतिहासको स्मरणीय र सुनौलो सम्झना बन्नुपर्छ भन्ने पनि बताएर उनले राजतन्त्रवादीलाई अझै उक्साउने काम नै गरेका छन् र उनी यस दिशामा अझ अटेरी बनेका छन् भन्ने कुरा नेपाली जनता, राजनीतिक दल र सरकारले राम्ररी बुझ्नु जरुरी छ ।

आत्मनिर्भर अर्थतन्त्र र सन्तुलित कूटनीतिक सम्बन्धको प्रतिपादन गर्ने पृथ्वीनारायण शाहको नीतिलाई मूलमन्त्रका रुपमा लिई पृथ्वीपथका रूपमा स्विकार्न उनले गरेको आह्वान भने सकारात्मक नै मान्नुपर्छ । नेपाली युवाहरूको विदेश पलायन रोकेर स्वदेश फर्क, स्वदेशमै स्वर्ग भन्ने नारा पनि समयसापेक्ष छ । मुलुकको रुग्ण अर्थतन्त्र औँल्याएर राजनीतिलाई आफ्नो पक्षमा पार्न गरिएको प्रयासले आगामी दिनमा राजतन्त्रवादीलाई कत्तिको उक्साउला वा   गणतन्त्रवादीलाई बिच्काउला, त्यो त हेर्न बाँकी नै छ ।  “अब समय आयो । राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीहरूलाई आह्वान गर्छौंँ ।” भन्ने ७५ औँ प्रजातन्त्र दिवस, फागुन ७ का पूर्वसन्ध्यामा दिए जस्तो घनत्वको यो सन्देश नमानिए पनि यसका गूढार्थलाई बुझेर समयमै चाल चल्न सम्बद्ध पक्ष चनाखो हुनैपर्छ ।

टिप्पणीहरू