डाटा सेन्टरहरुलाई सूचीकृत हुन सूचित
डाटा सेन्टर र क्लाउड सेवा प्रदायकलाई सूचीकृत हुन आह्वान गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत सूचना प्रविधि विभागले आज सार्वजनिक सूचना निकालेर त्यस्ता सेवा प्रदायकहरुलाई सूचीकृत हुन सूचित गराएको हो ।
सूचना प्रविधि प्रणालीलाई भरपर्दो, सुरक्षित र प्रभावकारी बनाउन ‘डाटा सेन्टर तथा क्लाउड सेवा (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०८१’ जारी भएको स्मरण गराउँदै विभागले सोहीबमोजिम ती सेवा प्रदायकलाई दर्ता हुन भनेको छ । निर्देशिका प्रारम्भ भएको ६ महिनाभित्र विभागमा सूचीकृत भइसक्नुपर्ने सूचनामा उल्लेख छ ।
‘यो निर्देशिका प्रारम्भ हुँदाका बखत सञ्चालनमा रहेका डाटा सेन्टर सञ्चालकले दफा ३ को उपदफा (२) बमोजिमका तथा क्लाउड सेवा सञ्चालकले सोही दफाको उपदफा (३) बमोजिमका कागजात संलग्न गरी यो निर्देशिका प्रारम्भ भएको ६ महिनाभित्र उपदफा (२) वा (३) सँग सम्बन्धित कागजातसहित अनिवार्य रुपमा विभागमा सूचीकृत हुन निवेदन दिनुपर्ने व्यवस्था छ’, सूचनामा लेखिएको छ ।
सूचना प्रविधिको प्रयोगमार्फत सरकारी, सार्वजनिक र निजी क्षेत्रबाट सिर्जना भएका डाटाहरुको सुरक्षित तथा गोपनीय तवरले देशभित्र भण्डारण वा सोको व्यवस्थापन गर्ने उद्देश्यका साथ गत माघ १५ गते सरकारले ‘डाटा सेन्टर तथा क्लाउड सेवा (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०८१’ जारी गरेको थियो ।
निर्देशिकामा डाटा सेन्टर तथा क्लाउड सेवा प्रदायक सूचना प्रविधि विभागमा अनिवार्य रुपमा सूचीकृत हुनुपर्ने व्यवस्था छ । सूचीकृत हुनका लागि सेवा प्रदायकले कम्पनी, फर्मको दर्ता प्रमाणपत्र, आगलागी सुरक्षाको सुनिश्चितता, संस्थाको सुरक्षा र गोपनीयता नीति, बिजनेस कन्टिन्यूटी प्लानसम्बन्धी कागजात, डाटा सेन्टर रहने स्थानको नक्सा, डाटा सेन्टरको तहसम्बन्धी विवरण, आईपी पुलको विवरणजस्ता कागजपत्रसहित विभागमा निवेदन दिनुपर्छ ।
टिप्पणीहरू