मुलुकबाट दैनिक ४२ जना बेपत्ता, पुग्छन् कहाँ ?

मुलुकबाट दैनिक ४२ जना बेपत्ता, पुग्छन् कहाँ ?
सुन्नुहोस्

चालु आर्थिक वर्ष २०८०/८१ को कात्तिक मसान्तसम्म मात्र चार हजार नौ सय ६५ जना बेपत्ता भएका छन् । उक्त संख्या नेपाल प्रहरीको तथ्याङ्कअनुसार गत साउनदेखि कात्तिक मसान्तसम्म बेपत्ता भएकाहरुको हो । 

पछिल्लो समय बालबालिका, महिला, पुरुष, ज्येष्ठ नागरिक हराउने क्रम बढ्दो छ । विशेषगरी बेपत्ता हुनेमा महिला र बालिकाको संख्या बढेको देखिन्छ । गत वर्ष १५ हजार दुई सय ४५ जना बेपत्ता भएका थिए । 

तीमध्ये दुई हजार आठ सय ७५ पुरुष, पाँच हजार चार सय २५ महिला, एक हजार नौ सय ३५ बालक, जेष्ठ नागरिक महिला १८ तथा पुरुष ४७ र चार हजार नौ सय ४५ जना बालिका हुन् । 

हराएकामध्ये एक हजार सात सय २८ पुरुष, तीन हजार छ सय ५५ महिला, एक हजार एक सय ६९ बालक, जेष्ठ नागरिक महिला ९ तथा पुरुष ३६ र बालिका दुई हजार सात सय २५ जना फेला परेको समेत तथ्याङ्कले देखाउँछ । 

आर्थिक वर्ष २०७८/०७९ मा तीन हजार दुई सय ९७ पुरुष, सात हजार एक सय ४१ महिला, एक हजार एक सय ३५ बालक, जेष्ठ नागरिक महिला ४१ तथा पुरुष ९४ र बालिका तीन हजार दुई सय ४९ गरी जम्मा १४ हजार नौ सय ५७ जना बेपत्ता भएका थिए । 

तीमध्ये एक हजार दुई सय २३ पुरुष, दुई सय नौ सय ९२ महिला, छ सय ५५ बालक, जेष्ठ नागरिक महिला २१ तथा पुरुष ४८ र बालिका एक हजार सात सय ११ गरी छ हजार छ सय ५० जना पछि फेला परेका हुन् । 

त्यस्तै, आर्थिक वर्ष २०७७/०७८ मा १० हजार ३१ जना हराएका थिए । तीमध्ये दुई हजार दुई सय १५ पुरुष, पाँच हजार तीन सय २२ महिला, छ सय ४९ बालक, जेष्ठ नागरिक महिला ३४ तथा पुरुष ६४ र बालिका एक हजार सात सय ४७ जना रहेको बताइन्छ । 

हराएकामध्ये आठ सय २२ पुरुष, दुई हजार तीन सय ४५ महिला, तीन सय ६२ बालक, जेष्ठ नागरिक महिला २१ तथा पुरुष ३१ र बालिका एक हजार ८७ गरी जम्मा चार हजार छ सय ६४ जना भेटिएका थिए ।  

यसैगरी, आर्थिक वर्ष २०७६/०७७ मा सात हजार नौ सय एक जना बेपत्ता भएका थिए । तीमध्ये पुरुष एक हजार आठ सय ६८, महिला चार हजार ६२, बालक छ सय ६६, जेष्ठ नागरिक महिला २१ तथा पुरुष १८ र बालिका एक हजार दुई सय ६६ जना रहेको जनाइएको छ । 

बेपत्तामध्ये छ सय ९१ पुरुष, एक हजार चार सय ६९ महिला, तीन सय २२ बालक, जेष्ठ नागरिक महिला नौ तथा पुरुष नौ र बालिका छ सय ६५ समेत कुल तीन हजार एक सय ६५ जना फेला परेका हुन् ।
 
मुलुकबाट वर्षेनी मानिस हराउने क्रम बढ्दो छ । बेपत्ता हुनेमा बालक र पुरुषभन्दा महिला र बालिका बढी देखिन्छन् । तर, बेपत्ता भएका ती कुन अवस्थामा र कहाँ छन् भन्ने कुरामा राज्य बेखबरजस्तै बनेको छ ।

हराएका कतिपय महिला तथा बालबालिका बेचबिखनमा समेत पर्ने गरेको बताइन्छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायत दैनिक ४२ जना बेपत्ता हुने गरेको बताउँछन् । 

‘हराएकामध्ये कतिपय आफुखुशी घर छाडेर गएका हुन्छन् । कोहीले भागेर विवाह गरेको पनि पाइन्छ,’ उनले भने, ‘कतिपयलाई भने आर्थिक प्रलोभनमा पारेर वा ललाईफकाई गायब बनाइएको र बेचबिखन गरिएको पनि पाइएको छ ।’

उनले थपे, ‘अभिभावकले आफ्ना छोराछोरी कस्तो साथीसँग संगत गरिरहेको छ ? सामाजिक सञ्जालमा कस्ता व्यक्तिसँग जोडिएको छ ? वरपरका छिमेकीको बानी व्यवहार कस्तो छ ? भनेर ध्यान दिन जरुरी छ । नत्र पछुताउनुपर्ने स्थिति आउन सक्छ ।’

कतिपय अवस्थामा घरपरिवारले वास्ता नगरेपछि वा हेँला गरेपछि वृद्ध आमाबुबासमेत घर छाडेर जाने गरेको पाइएको प्रवक्ता कडायत बताउँछन् । 

बुढेसकाल लागेपछि छोरा–बुहारीले आमाबुबाको मतलब नगर्ने, राम्रो बोलीवचन नगर्ने, दुर्व्यवहार, हेप्नेजस्ता प्रवृत्तिका कारण केही समययता ज्येष्ठ नागरिक बेपत्ता हुने क्रम पनि बढेको उनको भनाई छ ।

टिप्पणीहरू