यता टिकटक बन्द, उता राजतन्त्रको गन्ध

यता टिकटक बन्द, उता राजतन्त्रको गन्ध
सुन्नुहोस्

चीनमा जन्मेको टिकटक एपलाई विश्वभर लोकप्रिय सामाजिक मिडिया मानिएको छ । ५० वटा भाषामा आउने टिकटकका १५० भन्दा बढी बजार छ । यसका ३.५ बिलियनभन्दा बढी डाउनलोड छन् । संसारका प्रयोगकर्ताले टिकटकमा प्रतिदिन औसत ४६ मीनेट खर्च गर्छन् ।

यसका मासिक १ बिलियन प्रयोगकर्ता छन् । चिनियाँ प्रविधि कम्पनी बाइटडान्सद्वारा सन् २०१६ मा ल्याइएको डाउयिन (सन् २०१७ टिकटक नामकरण) को लक्ष्य अरु सामाजिक सञ्जालको झैँ इन।एप खरिदबाट पैसा कमाउनु हो । यो विभिन्न वस्तुको मार्केटिङका साथै मनोरञ्जन, कमेडी, सौन्दर्य, पाककला प्रदर्शनका लागि समेत चोटिलो प्लेटफर्म बनेको छ । 

सन् २०२२ को सुरुवाती तथ्यांकअनुसार विश्वमा लगभग १ बिलियन मानिसले यसको प्रयोग गर्थे । बेइजिङ, सांघाई, जाकार्ता, लण्डन, बर्लिन, इण्डोनेसिया, भारत, मुम्बई, मस्को, सियोल, लस एञ्जलस, दक्षिण कोरिया, सिंगापुर, टोकियोमा कार्यालय रहेको टिकटकबाट मोबाइल उपकरण वा वेवक्यामहरूमा खिचिएका भिडियो सिर्जना गर्न र हेर्न सकिन्छ ।

यसलाई संक्षिप्त समाचार र सूचनाको छिटोछरितो माध्यमसमेत मान्न सकिन्छ । त्यसैले लोकप्रिय हुनुको साथै धेरैले चलाउन रुचाएका हुन् । यसमा महिलाको बढी आकर्षण देखिन्छ । एक ग्लोबल डाटाले ५३.४ प्रतिशत महिला प्रयोगकर्ता भएको देखाएको छ । समग्रमा अमेरिका, इण्डोनेसिया र ब्राजिल क्रमशः टिकटक प्रयोग हुने पहिलो, दोस्रो र तेस्रो देश हो । 

टिकटक नेपालमा पनि बढी रमाइलो गर्ने माध्यम बनेको थियो । धेरै प्रयोगकर्ताले नाचेको, गाएको, बोलेको देखाउँथे । इन्टरनेट सेवा प्रदायक संघ नेपालका अनुसार नेपालमा दैनिक टिकटक प्रयोग गर्नेको संख्या २२ लाख ७ हजार ३ सय १६ पुगिसकेको थियो । १८ देखि ३४ वर्षभित्रका मानिस यसमा अत्यधिक संलग्न थिए । 

तर विश्वमा टिकटकको चर्चा र लोकप्रियता भएजस्तै विवादहरू पनि कायमै छन् । केही देश टिकटकबाट डाटा, व्यक्तिको गोपनीयता, जीवन असुरक्षा हुने देखेर डराएको देखिन्छ । यसलाई आधार मानेर कतिपयले यसमा प्रतिबन्ध लगाएका छन् । भारतले देश र आफ्ना नागरिकको सुरक्षाको कारण देखाई सन् २०२० मै टिकटक एपमाथि प्रतिबन्ध लगाएको थियो । डेनमार्कले केही महिनाअघि कर्मचारीलाई काम गर्ने डिभाइसमा टिकटक चलाउन रोक लगायो । अष्ट्रेलिया, बेल्जियम र क्यानाडा सबै सरकारी मोबाइल डिभाइसमा टिकटक चलाउन निषेध गरिएको छ । यसलाई अफगानिस्तानमा सन् २०२२ मा बन्द गरियो ।

इण्डोनेसियामा पोर्नाेग्राफी, नराम्रा र ईश्वरनिन्दाजस्ता सामग्री राखेको भनेर प्रतिवन्ध लगाइएको थियो । तर टिकटक कार्यालयले हटाउने र अबउप्रान्त यस्ता सामग्री नराख्ने प्रतिवद्धता जनाएपछि एक हप्तामै प्रतिबन्ध हटाइयो । यसलाई बंगलादेश पनि प्रतिबन्ध लगाएर पछि खोलिएको हो । यो अमेरिकामा समेत बहस र निगरानीको विषय बनिरहेको छ । जुलाई २०२० मा अमेरिकाका तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा चिनियाँ प्रयोगकर्ताले अमेरिकाको जासुसी गर्नसक्ने कारण दर्साउँदै यसमा प्रतिबन्ध लगाउन खोजिएको थियो ।

अमेरिकी सांसद्हरूले अहिले पनि यसप्रतिको निगरानीका लागि आवाज उठाइरहेका छन् भने टिकटक युरोपेली युनियनको पनि निगरानी र विभिन्न शर्तहरूबाट मुक्त छैन । युरोपेली युनियनले गोपनीयता, डाटाको सुरक्षा, इन्टरनेट प्रयोगकर्ताहरूको जीवन रक्षा जस्ता शर्त पूरा गर्ने प्रतिवद्धता जनाउन समयसीमा तोकेको थियो । यी शर्त पूरा नगरे निकट भविष्यमा त्यहाँ यसमाथि प्रतिबन्ध लाग्न सक्छ ।

नेपालमा पनि यो विवादरहित हुन सकेन । नकारात्मक प्रयोगकर्ताका कारण यो प्रतिबन्धित हुनपुग्यो । गलत प्रस्तुतिबाट सामाजिक सद्भावमा खलल पुगेको भनी सरकारले गत कात्तिक २७ गतेदेखि यसको प्रयोगमा रोक लगाएको हो । यद्यपि यस निर्णयविरुद्ध सर्वाेच्च अदालतमा रिट परेर सरकारका नाममा कारण देखाऊ आदेशसमेत जारी भइसकेको छ । हो, टिकटकबाट अश्लील, सामाजिक सद्भाव भड्काउने प्रस्तुति आउने गरेको यथार्थ हो । तर यसका सकारात्मक पक्षहरू पनि थिए । चुनौतीका साथसाथै अवसर र सम्भावनाहरू थिए । यसबाट कतिपय मानिस स्वरोजगार भएका थिए । नेपालमा आफ्नै सञ्जाल निर्माण गर्न नसकिएको अवस्थामा सूचनाका यस्ता माध्यम बन्द हुँदा जनताको सूसूचित हुने अधिकार मर्छ । नकारात्मकतातिर मात्रै नजर लगाउने हो भने फेसबुक, युट्युबजस्ता अन्य सामाजिक सञ्जालबाट पनि त अराजक, अश्लील विषय प्रवाह भइरहेका छन् । के त्यसलाई पनि बन्द गरिदिने त ? गर्न हुँदैन । किनकि टिकटक बन्द गर्दै अर्थात् पछाडि फर्कंदै जाने भए फेसबुकजस्ता अन्य सामाजिक सञ्जाल पनि बन्द गर्नुपर्छ । सबै सामाजिक सञ्जाल बन्द गर्ने भए अनलाइन माध्यम बन्द गर्नुपर्छ ।

अनलाइन माध्यम बन्द गर्ने भए टिभी बन्द गर्नुपर्छ । टिभी बन्द गर्नुपर्ने भए रेडियो बन्द गर्नुपर्छ । रेडियो बन्द गर्ने भए फोटोग्राफी बन्द गर्नुपर्छ । फोटोग्राफी बन्द गर्ने भए पत्रपत्रिकाको प्रकाशन बन्द गर्नुपर्छ । पत्रपत्रिका बन्द गर्ने भए पुस्तक छाप्न दिनुहुँदैन । टेलिफोन, मोबाइल फोन, लेखन कार्य जस्ता विभिन्न सञ्चारका माध्यम र उपाय बन्द गरेर संसारलाई ढुंगेयुग, मत्स्ययुगमा फर्काउनुपर्छ । हुन त टिकटक नहुँदा पनि सूचना प्रवाह रोकिएको थिएन, तर पनि सञ्चारका प्लेटफर्महरू बन्द हुँदा लोकतान्त्रिक सरकारकै आलोचना हुनेरहेछ । टिकटकका सकारात्मक प्रयोगकर्ताहरू पनि सरकारकै विरोधी बन्ने रहेछन् ।

समाज फेरि विभाजित र झैझगडामा नै छ । यता जीवन्त टिकटक बन्द भएको छ भने उता मृत राजतन्त्रको गन्ध आएको छ । गणतन्त्रले पनि जनतालाई राहत दिन नसकेको, भ्रष्टाचार बढेको भन्दै मानिसहरू सडकमा उत्रेका छन् । सयौँ वर्षका ती कालरात्रीहरू बिर्सेर मानिसहरू भावनामा राजतन्त्र फर्काउने कुरा गरिरहेका छन् ।

अतः टिकटक बन्द र राजतन्त्रको गन्ध उस्तै उस्तै हो । जसरी टिकटकजस्ता माध्यम बन्द गर्ने हो भने पछि फर्कंदै पुरानै अन्धकार युगमा पुग्नुपर्ने हुन्छ । त्यसरी नै राजतन्त्र फर्काउने हो भने समाजलाई सामन्ती युग, दासयुग, ढुंगेयुग, कविला युगमा पु्¥याउनुपर्छ । त्यसैले समयको गति रोक्न खोज्नु र अगाडि बढिरहेको समाजलाई पछाडि फर्काउन खोज्नु उस्तै उस्तै अतिवाद हो । टिकटकजस्ता सामाजिक सञ्जाल बन्द गरेर समस्या समाधान गर्न खोज्नुको सट्टा नियमनमा कडाइ गर्नु उपयुक्त हो । यो एकदमै गतिशील कदम हो ।

यदि होइन भने विदेशी सबै सामाजिक सञ्जाल बन्द गरेर आफ्नै देशको एप्स बनाउन सक्नुपर्छ । यस्तै राजतन्त्र फर्काउँछु भनेर फेरि मुलुकलाई द्वन्द्वमा लैजानु समयको बर्बादी हो । फेरि विकास र समृद्धिको गतिलाई रोक्न खोज्नु हो । मुलुकमा अशान्ति मच्चाउनु हो । त्यसैले कुयात्रामा समय शक्ति फाल्नुको सट्टा शासक, प्रशासकमाथि निगरानी बढाउँदै गणतन्त्रलाई अझ उन्नत बनाउन लाग्नुपर्छ । राजाहरूले राष्ट्र निर्माणमा दिएको योगदानको स्मरण र सम्मान गर्नुपर्छ । भ्रष्टाचारविरुद्ध जनमत तयार पारेर भ्रष्टाचारीलाई शक्ति र सत्ताबाट सडकमा ल्याई सदाचारीले शासन सत्ता हातमा लिनुपर्छ यही व्यवस्थाभित्र बसेर ।
 

टिप्पणीहरू