टिकटक : अतिले निम्त्याएको खति

टिकटक : अतिले निम्त्याएको खति

सरकारले मुलुकमा टिकटक प्रयोगमा प्रतिबन्ध लगाएकोे छ । गत सोमबारको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको हो । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई तत्काल निर्देशन दिइसकेको छ । 

प्राधिकरणको निर्देशनपछि सेवा प्रदायकहरुले टिकटक बन्द गरेका छन् । सरकारको उक्त निर्णयपछि हाल सामाजिक सञ्जाल दुई धारमा विभाजित भएको छ । यता, राजनीतिक दलका नेताहरुबीच नै टिकटक बन्द गर्ने विषयमा पनि बहस छेडिएको छ । 

नेपाली काँग्रेसका महामन्त्री एवम् सांसद गगन थापाले टिकटक बन्द गरेर सरकार उल्टो कदम हिँडेको टिप्पणी गरेका छन् । उनले नागरिकको अभिव्यक्ति तथा वैयक्तिक स्वतन्त्रतालाई सरकारले कुण्ठित पार्न खोजेको आरोप लगाएका छन् । 

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि टिकटक बन्द गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् । उनले  सामाजिक सञ्जाललाई नियमन गर्न सुझाव दिएका हुन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले टिकटकमाथिको प्रतिबन्ध अनुचित र अनुपयुक्त भएको बताएका छन् । विकृतिमाथि नियमनको नाममा प्रतिबन्ध स्वीकार नगरिने उनको भनाई छ । 

यता, जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रदीप यादवले नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णयको स्वागत गरेका छन् । टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय सान्दर्भिक भएको उनको जिकिर छ । 

नेकपा एमालेका नेता महेश बस्नेतले टिकटक बन्द गर्ने निर्णयको समर्थन गरेका छन् । उनले अन्य सामाजिक सञ्जालका माध्यमहरु पनि नियमन गर्न सरकारसँग माग गरेका छन् । मधेश प्रदेशका युवाहरुले सरकारको उक्त निर्णयको समर्थनमा दीप प्रज्वलन गरेका छन् । 

सिरहाको मिर्चैयामा युवा अभियन्ता पंकज शर्माको नेतृत्वको टोलीले दीप प्रज्वलन गरी सरकारलाई धन्यवाद दिएको हो । सामाजिक सञ्जालमा सरकारको निर्णयको विपक्षमा भन्दा पक्षमा धेरै देखिन्छन् ।

टिकटक बन्द गर्ने सरकारको निर्णयमा एक जना सामाजिक सञ्जाल प्रयोगकर्ताले भनेका छन्, ‘सरकारको निर्णय स्वागतयोग्य छ । टिकटकबाट केही राम्रा काम गर्नेहरु पनि छन् तर राम्राभन्दा धेरै नराम्रा हुँदाको परिणाम हो टिकटक बन्द हुँदा संसार नै विलयजस्तो नगरेको जाती ।’

अर्काले लेखेका छन्, ‘टिकटक बन्दले कलिला बालमस्तिष्कहरु विक्षिप्त हुनबाट केही हदसम्म जोगिएको छ ।’ यो सामाजिक सञ्जालको युग हो । सामाजिक सञ्जालका नयाँ–नयाँ एप्लिकेसनहरुको विकास भइरहेको छ । 

तर, सामाजिक सञ्जालको प्रयोग कसरी गर्ने ? भन्ने विषयले धेरै प्रभाव पार्दछ । पछिल्लो समय यसको सदुपयोगभन्दा धेरै दुरुपयोग भइरहेको छ । जसले गर्दा सामाजिक सञ्जालको नियमनसमेत चुनौतीपूर्ण बनेको हो । 

सामाजिक सञ्जालमा छाडापन मौलाएको छ । छोटो समयमा लोकप्रिय बनेको टिकटक नेपालीमा लतझैं बसेको छ । अधिकांशले टिकटक नै चलाउने गरेको पाइन्छ । तर, टिकटकका कारण समाजमा विकृति फैलिएपछि यो बन्द गर्नुपर्ने माग उठिरहेको थियो । 

टिकटकलाई नियमन गर्ने कुनै आधार नहुँदा यसले नकारात्मक सन्देश प्रवाह गरिरहेको थियो । सामाजिक सद्भाव खलल पार्ने र जनसमुदायमा विकृति फैलाउने खालका क्रियाकलाप कुनै पनि नागरिकले गर्न पाउँदैनन् । भड्किलो, उत्तेजना फैलाउने र अवाञ्छित गतिविधि गर्न कानुनले नै बन्देज लगाएको छ । 

विश्वप्रख्यात चिनियाँ एप टिकटकले नेपालमा बेथितिको बाढी ल्याएको थियो । नेपालीले चलाएका टिकटकलाई अश्लिल सामग्रीले छपक्क छोपेको हुन्थ्यो । समाजमा अपाच्य कन्टेन्टहरु टिकटकमा छ्याप्छ्याप्ती भेटिन्थ्यो । तर टिकटक विशुद्ध मनोरञ्जनको माध्यम हो । 

मनोरञ्जनका नाममा टिकटक प्रयोगकर्ताहरुले अनैतिक हर्कत गर्न थालेको गुनासो बढ्न थालेको थियो । सस्तो लोकप्रियता कमाउन र छिटो भाइरल बन्न उत्तेजित सामग्री हाल्ने क्रम एकाएक बढ्यो । ‘अतिले खति निम्त्याउँछ’ टिकटकको हकमा पनि त्यही भएको मान्न सकिन्छ ।

सही तरिकाले सामाजिक सञ्जालको प्रयोग नगर्दा त्यसलाई बन्द गर्नुपर्नेसम्मको अवस्था बनेको अधिकांशको भनाई छ । टिकटकका कारण पारिवारिक कलहदेखि ज्यान गएकोसम्म घटना भएका छन् । टिकटक बनाउने क्रममा भीरबाट खसेर कतिपयको ज्यानसमेत गएको छ । 

अन्य कामधन्दा छाडेर टिकटकमै झुत्तिने विकृति समाजमा देखिन थालेको थियो । टिकटक बन्दको माग गर्दै मधेशका युवाले यसअघि प्रदर्शनसमेत गरेका थिए । यता, नेपाल समाजवादी मोर्चाका संयोजक युवराज सफलले टिकटक बन्द गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको ध्यानाकर्षण गराएका थिए । 

टिकटकको माध्यमबाट गालीगलौज, वेश्यावृत्ति गर्ने र सामाजिक, धार्मिक सद्भाव बिथोलेर जातीय एवम् साम्प्रदायिक हिंसा भड्काउने कार्यले प्राथमिकता पाएको उल्लेख गर्दै उनले भदौ १२ गते सञ्चारमन्त्री शर्माको निजी सचिवालयमा निवेदन दर्ता गराएका हुन् । 

‘पपुलर’ बन्न टिकटकमा छाडा कन्टेन्ट हाल्नेको संख्या ह्वात्तै बढेको थियो । यता, रिस साँध्नका जथाभावी गाली गर्ने, बद्नाम गर्ने कार्यले व्यापकता पाएको थियो । एउटा समुदायले अर्को समुदायमाथि घृणा तथा विद्धेष फैलाउन पनि टिकटककै प्रयोग हुँदै आयो ।

एकअर्काको मानमर्दन गर्ने र अश्लील सामग्रीको प्रचार गर्ने माध्यमका रुपमा चिनिन थालेको थियो, टिकटक । दर्शक बटुल्नका लागि अंग प्रदर्शन गर्नुका साथै टिकटक चरित्रहत्या गर्ने थलोको रुपमा विकास भएको थियो । 

टिकटक प्रयोगकर्ताहरु घण्टौं ‘लाइभ’ मा बसेर समय खेर फाल्ने गर्दथे । ‘गिफ्ट’ का लागि उनीहरुले अपाच्य क्रियाकलापसमेत गर्दै आएका खबर बाहिरिएका थिए । सरकारले टिकटक बन्द गरेपछि केही ‘कन्टेन्ट क्रिएटर’ हरुले विरोध जनाएका छन् । उनीहरुले सरकारको निर्णयविरुद्ध अदालत गुहार्ने तयारी थालेका छन् । 

सामाजिक सञ्जालमार्फत् हुने अपराधका उजुरी बढ्दै 

साइबर अपराधका कारण अहिले विश्वका धेरै मुलुक आतंकित बनेको छ । नेपाल पनि साइबर अपराधको चपेटामा परेको छ । विद्युतीय माध्यमबाट हुने अपराध दिनानुदिन बढ्दै गएको छ । नेपाल प्रहरीले सामाजिक सञ्जालमार्फत् हुने अपराध बढेको जनाएको छ । 

प्रहरीका अनुसार मेसेञ्जर र टिकटकमार्फत् अपराधजन्य क्रियाकलाप गर्नेको संख्या सबैभन्दा बढी छ । एक वर्षमा चार हजार ९९८ वटा उजुरीमा कारबाही गरिएको प्रहरीले जानकारी दिएको छ । तीन हजार ७७८ मेसेन्जर र ५४८ वटा टिकटकका उजुरीउपर कारबाही गरिएको प्रहरीको भनाई छ ।                        

कुन–कुन देशमा टिकटक प्रतिबन्धित छ ? 

चिनियाँ कम्पनी बाइट डान्सले चलाउँदै आएको एप विश्वमै छोटो समयमा लोकप्रिय बन्यो । तर, यसले राष्ट्रिय सुरक्षामा जोखिम पार्ने, धार्मिकद्वेष उत्पन्न हुने, अश्लिल फोटो र भिडियो बढ्ने, गोपनीयता भंग हुने कारण देखाउँदै २६ वटा मुलुकले टिकटकलाई प्रतिबन्ध लगाएका छन् । यो सूचीमा नेपाल पनि थपिएको छ ।

बेलायत, अमेरिका, न्यूजिल्याण्ड, क्यानडा, ताइवान, बेल्जियम, डेनमार्क, पाकिस्तान, अफगानिस्तान, भारत, सोमालिया, अर्मेनिया, अजरबैजान, बंगलादेश, इन्डोनेसिया, इरान, जोर्डन, अष्ट्रिया, इष्टोनिया, फ्रान्स, आयरल्याण्ड, लात्भिया, माल्टा, नेदरल्याण्ड, नर्वे, अष्ट्रेलियामा टिकटकमा प्रतिबन्ध लगाइएको छ ।

टिप्पणीहरू