चौधरीको उल्टो रटान, वाइवाइमा मिसाइएको रसायन र जरिवानाबारे मौन

चौधरीको उल्टो रटान, वाइवाइमा मिसाइएको रसायन र जरिवानाबारे मौन
सुन्नुहोस्

विवादास्पद व्यापारी तथा सांसद विनोद चौधरीको सिजी ग्रुपले उत्पादन गरेको वाइवाइ चाउचाउमा घातक रसायन भेटिएपछि काठमाडौं महानगरपालिकाले जरिवानास्वरुप दुई लाख रुपैयाँ कारबाही गरेको छ । चाउचाउमा मानिसलाई क्यान्सर हुनसक्ने घातक रसायन भेटिएपछि महानगरले उक्त रकम जरिवाना र ब्याच नम्बर ६० जीएमआरएस २० एआर वाइएल २३ सीएचआइ २०८० को उत्पादन सबै बजारबाट फिर्ता लिन निर्देशन दिइएको छ । 

महानगरपालिकाले वाइवाइ चाउचाउ गुणस्तर परीक्षणमा फेल भएको पाइएपछि कारबाही गरिएको जनाएको छ । परीक्षणमा चाउचाउमा प्रयोग भएको एसिड भ्यालु अत्यधिक पाइएको थियो । एसिड भ्यालु अफ एक्स्ट्रयाक्टेड फ्याट एनएमटी १ एम जी हुनुपर्नेमा चौधरीको चाउचाउमा १३.९३४ मिलिग्राम एसिड भ्यालु भेटिएको हो । 

तर, विनोद चौधरीका जेठा छोरा एवम् सिजी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सामाजिक सञ्जालमा आफ्नो उत्पादनको एकोहोरो बखान गरेका छन् । उनले विश्वभर लोकप्रिय भएको वाइवाइविरुद्ध नेपालमा प्रोपोगण्डा गरिएको लेखेका छन् । उनको चाउचाउलाई बदनाम गरिएको भनेर लेखेका छन् । तर, दुई लाख रुपैयाँ जरिवाना किन गरिएको ? परीक्षणमा भनिएझैँ एसिडको मात्रा किन बढी राखिएको भन्नेबारे उनी मौन छन् ।

लेखेका छन्, ‘अचम्मकै कुरा भन्नुपर्छ–वाइवाई विश्वभर लोकप्रीय नेपाली स्वादका रूपमा स्थापित हुँदै जाँदा हाम्रो आफ्नै देशमा यस्तो प्रोपागान्डा किन हुन्छ? हामी आफ्नो गुणस्तर र प्रमाणित मापदण्डप्रति दृढ छौँ । नेपाली पहिचानकै रूपमा विश्वव्यापी ब्रान्डलाई बदनाम गर्ने प्रवृत्तिबाट कसले के प्राप्त गर्छ, त्यो उनैले जानून् । त्यसैले आम उपभोक्तालाई भ्रममा नपर्न आग्रह गर्दछौँ र यदि कसैलाई हाम्रा कारखानामा भ्रमण गर्न मन भए स्वागत गर्दछौँ ।’

चौधरीले एकोहोरो विश्वव्यापी र नेपाली स्वादको रटान लगाएपछि उनलाई सामाजिक सञ्जालमा धेरैले महानगरपालिकाले गरेको कारबाहीविरुद्ध कानुनी उपचार खोज्न सल्लाह दिएका छन् । पेशाले कानुन व्यवसायी कलंकीका कृष्णराज सिलवालले चौधरीलाई महानगरको कारबाही अनुचित भए कानुनी उपचार खोज्न सुझाएका छन् ।
 

टिप्पणीहरू