भैंसी संवाद

भैंसी संवाद

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणपछि एकाएक मुर्रा भैंसी चर्चामा आएको छ । नेपाली राजनीतिमा खसी, बोका, भेंडा, च्याङ्ग्राबारे त पहिले पनि चर्चा चल्ने गरेकै हो । भैंसीचाहिँ पहिलो पटक दृश्यमा आइरहेको छ ।

सौभाग्य नै भन्नुपर्ला, प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणकै ताका म पनि दिल्ली पुगेको थिएँ । व्यक्तिगत काममा । नेपालमा यतिविधि चर्चामा रहेको यो मुर्रा भैंसीचाहिँ आखिर के हो एक पटक बझ्न मन लाग्यो । 

यताउति खोज्दै मुर्रा भैंसी भएको ठाउँमा पुगेँ । ऊ हैदरावाद हाउससँगैको गोठमा बस्दो रहेछ । मलाई देख्नेबित्तिकै भैंसीले बाँऽऽ ग¥यो । शायद अभिवादन गरेको होला । साथै बोल्यो पनि, ‘के छ भैया ? सब ठीक चलिरहेको छ नि हैन ?’

नेपालमा यसरी बोल्नसक्ने भैंसी मैले देखेको थिइन । मुर्राचाहिँ बोल्दो पनि रहेछ । भनेँ, ‘म त ठीकै छु । तिमीलाई कस्तो छ नि ? नेपालमा त तिम्रो खुबै चर्चा छ ।’

भैंसीले भन्यो, ‘त्यो त स्वाभाविकै हो नि भाइ । आखिर म भैंसी नै भए पनि सानोतिनो भैंसी होइन । प्रधानमन्त्री मोदीको भैंसी हुँ । मोदीको भैंसी भएपछि चर्चामा आउनु स्वाभाविकै हो ।’

‘तर मोदीले एउटा भैंसी दिएर हाम्रा प्रधानमन्त्रीलाई फकाए भन्ने आरोप छ त नेपालमा ।’ मैले प्रश्न राखेँ ।

भैंसी बोल्यो, ‘फकाएको रे ? अब त हेर्नुस् भारत–नेपाल सम्बन्ध नै यो भैंसीमा टिकेको छ । म छिट्टै नेपाल आउँदैछु, एअरपोर्टमा मलाई कसले रिसिभ गर्छ म त्यो हेर्न खोज्दैछु ।’

‘रिसिभ गर्ने रे ? भैंसीलाई पनि रिसिभ गर्नुपर्ने ?’

‘नगरी सुख छ त ? मलाई तिमीले नेपालमा ममः बनाउने भैंसी ठान्यौ कि क्या हो ? म त प्रधानमन्त्रीको भैंसी पो हुँ । एअरपोर्टमा सकिन्छ भने प्रधानमन्त्री आपैm आएर रिसिभ गर्नुपर्छ । नभए दुई देशको

सम्बन्ध बिग्रिन सक्छ । पहिल्यै भन्दिया छु । बाँऽऽ !’

भैंसी मलाई छोडेर घाँस खानतिर लाग्यो । शायद उसको लञ्च टाइम शुरु भयो होला । 
 

टिप्पणीहरू