कथा थबाङको, व्यथा विदेश पलायनको

कथा थबाङको, व्यथा विदेश पलायनको

थबाङ– जसरी पनि चिन्न सकिन्छ । सत्तालाई धक्का दिने एउटा गाउँ । दशवर्षे सशस्त्र द्वन्द्वको उद्गम थलो । चुनावमा शून्य मत परिणाम दिने भूगोल । अहिले सर्लक्कै फेरिएको गाउँ । 

थबाङको एउटा मज्जाको विषेशता के छ भने, यहाँसम्म कच्ची मोटरबाटो त पुगेको छ तर भित्री गाउँमा भने चारपाङ्ग्रे सवारीसाधन चलाउन दिइन्न । प्रायः गाउँ–गाउँमा मोटर बाटो पुर्याउने सवाल उठ्छ, तर थबाङको ठूलो गाँउ भित्रभने सवारी साधन चलाउन पाइँदैन । 

यसरी भित्र गाडी चल्न नदिनुको कारण हो– थबाङको पहिचानलाई जीवन्त राख्ने ढुङ्गे गल्लीहरू । अर्को विषेशता भनेको थबाङमा बसोबास गर्दै आएकाहरूको ‘नाम’ हो । थबाङमा मगर समुदायको बसोबास छ तर प्रायःको नाम कम्युनिष्ट खालका छन् । वास्तविक नाम थाहा पाउन कि त नागरिकता हेर्नुपर्छ, कि कुनै परिचयपत्र । कारण हो, गाउँमा एकले अर्कोलाई बोलाउँदा गर्ने ‘कमरेड’को संबोधन ।

सदरमुकाम लिवाङबाट २८ कोष टाढा पर्ने थबाङमा ११ सयभन्दा बढी घरधुरी छन् । थवाङसम्म पुग्नलाई रोल्पाका पश्चिमी भेगमा पर्ने रेउघा, घर्तीगाउँ, दुईखोली, खरीबोट र मिरुलको भूगोल पार गर्नुपर्छ । त्यस्तै, पूर्वी भेगको बाटो सुलिचौर हुँदै पनि जान सकिन्छ ।

घरहरू ढुङ्गा, माटो र काठका फल्याकले बनेका छन् । पछिल्लो समयमा आधुनिकताको प्रभाव परेसँगै केही सामुदायिक भवन छड र सिमेन्टले बनाइएका छन् । अधिकांश थबाङी कृषिमै निर्भर छन् । पछिल्लो समय केही युवा विदेशिने गरेका छन् । कतिपय गाउँमै जडीबुटी खेतीमा लागेका छन् । 

थबाङमा दक्षिण एसियामै पहिलो पटक त्रिभुवन विश्वविद्यालय, काठमाडौँ र अजम्बरी जन कृषि सहकारीको संयुक्त पहलमा ‘ट्रफिल’को परिक्षण गरिएको थियो । यससँगै थबाङीहरू झनै यसको खेतीमा आकर्षित भएका छन् । थबाङको हावापानी चिसो भएकाले आलु र स्याउको खेती राम्रो छ । 
 

टिप्पणीहरू