सचिवसम्मै पुग्थ्यो त एयरपोर्टको सौगात ?

सचिवसम्मै पुग्थ्यो त एयरपोर्टको सौगात ?

आरजु र मञ्जुकै जोडबलले गृह मन्त्रालयमा भित्रिएका सचिव टेकनारायण (टिएन) पाण्डे अहिले नक्कली भुटानी शरणार्थी काण्ड लागेर प्रहरी हिरासतमा छन् । उनी पछि गत असोज पहिलो साता प्रदेशबाट गृहमा भित्रिएका सचिव विनोदप्रकाश सिंह पनि गम्भीर प्रकारको बदमासीमा मुछिएको कर्मचारीको आरोप छ ।  

 गृहकै ‘मालदार’ मानिने त्रिवि अध्यागमन कार्यालयमा कर्मचारी खटाइँदा लाखौँ रकम असुलिएको र त्यसको हिस्सा उनीसम्म पुगेको केहीको आरोप छ । स्रोतका अनुसार ६ उपसचिवको दरबन्दी रहेको त्रिवि अध्यागमनमा ९ जना थुपारिएको छ । त्यहाँ दरबन्दीभन्दा २१ जना बढी अधिकृत, ११ जना नासु, ४ जना कम्प्युटर अपरेटर र ८ जना बढी कार्यालय सहयोगी गरी ४७ जना कर्मचारी पार्ने क्रममा गृहसचिव सिंहको नामसमेत बिक्री भएको बताइन्छ । 

यो प्रकरणमा तत्कालीन कप्रका हाकिम उपसचिव शोभाखर रेग्मीदेखि गोकर्ण उपाध्याय(तत्कालीन गृहमन्त्री रवि लामिछानेका १३ दिने निजी सचिव)सम्म मुछिएका छन् । यस्तै कप्र हेर्ने कृष्णप्रसाद शर्मा, शाखा अधिकृतद्वय कुलशेखर अर्याल र भाष्कर दाहालसमेतलाई विवादमा तानिएको छ । कुमार पोखरेल, नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपालका साख्खै भाइ हुन् । भ्रष्टाचार मुद्दा चलिरहेका उनलाई दरबन्दी नै नभएको ठाउँमा खटाइएको थियो ।

स्रोतका अनुसार कम्प्युटर अपरेटर मञ्जुल मास्के तथा प्रशासन शाखाका कर्मचारीहरूले ड्युटीमा खटिने अध्यागमन अधिकृतलाई सफ्टवेयर सिष्टममा अनधिकृत म्यानिपुलेट गरी आफ्नो अनुकूलको अधिकृतलाई प्रस्थान कक्षमा खटाएर अवाञ्छित गतिविधि गरी आर्थिक लाभ लिँदै आएको आरोप छ । यस्तै, जनार्दन शर्माका खास मानिएका एकराज केसी (माओवादी केन्द्र रूकुम–काठमाडौं सम्पर्क समिति उपाध्यक्ष),सँग कम्प्युटर अन–अफ गर्ने सीपसमेत नभएको त्यहाँका कर्मचारीले चुक्ली लगाएका छन् । गत वर्ष नै त्यहाँबाट सरुवा भएका कम्प्युटर अपरेटरद्वय सुवोध घिमिरे र केशवराज भट्ट सरुवामा परेका भए पनि सचिव र कर्मचारी प्रशासन महाशाखा प्रमुखलाई खुशी पारेकै कारण त्यहाँ टिक्न सफल भएका छन् ।

त्रिवि अध्यागमनको आकर्षण कस्तो छ भने केशवराज भट्ट त्यहाँबाट ०८० वैशाख १० गते रमाना लिई ११ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय हुँदै गृह मन्त्रालयमा पुगे । सचिव सिंहको ठाडो आदेशमा फेरि अध्यागमनमै हाजिर हुन थालेका छन् । यसअघि २० महिनासम्म दरबन्दी नभएको कार्यालयमा बसेर तलब थाप्ने कर्मचारी यिनै हुन् । त्यहाँ नासु छन्, टंकनाथ गौतम, विभागको स्टोरका हर्ताकर्ता । गत वर्ष नै सरुवामा परे पनि वर्ष दिन भयो रमाना लिनुपरेको छैन ।

अहिले अमनलाल मोदीको निजी सचिवका रुपमा कार्यरत ज्ञाननाथ ढकालकी पत्नी गीतादेवी सरुवा भइसकेर पनि त्यो कार्यालय छाड्न मानेकी छैनन्, गीता झंककी भाइ बुहारी हुन् । यस्तै अध्यागमन अधिकृत दीपक पाण्डेलाई सो निकाय छोडेर अन्यत्र जानुपरेको छैन । अध्यागमनमा खटिएका सुरज फागो, सुरज निरौला, मोहन ज्ञवाली, दीपेन्द्र रावल, भाष्कर दाहाल, कुमार पोखरेल टिक्ने खेतीपातीमा सक्रिय छन् । 

(जनआस्था साप्ताहिकबाट साभार)

टिप्पणीहरू