मर्न बरु गाह्रो हुन्न

मर्न बरु गाह्रो हुन्न

अब नेपालमा बाँच्न जतिसुकै गाह्रो भए पनि मर्नचाहिँ सजिलो हुने भएको छ । किनभने सरकारले पशुपतिमा निःशुल्क शवदाहको व्यवस्था गर्न लागेको छ । पशुपतिको विद्युतीय गृहमा अब शवदाह निःशुल्क हुने भएको छ । यसको अर्थ के हो भने जिउन जतिसुकै कष्टप्रद भए पनि अब मृत्यु आनन्ददायी हुने भएको छ । पैसा नभएकै कारण कसैको मृत्यु रोकिनेवाला छैन । पैसा नभए पनि आरामसाथ मर्न पाइने छ । मानिसको मृत्युलाई चिन्तामुक्त बनाइदिएकोमा सरकारलाई धन्यवाद दिनै पर्छ ।

सरकारले जिउने कामलाई भने अहिलेसम्म सहज बनाउन सकेको छैन । किनभने त्यो गाह्रो पनि छ । निःशुल्क जिउन पाउनु त झन सम्भवै छैन । तसर्थ यो सरकारको वशमा छैन । सरकारको वशमा भएको त मर्ने (वा मार्ने) मात्रै हो । त्यसैले सरकारले मर्ने कामलाई सहज बनाउन लागेको छ । मर्न सहज हुने भएपछि मान्छेको जीवन पनि सहज नै हुनेछ । किनभने मरेपछि के होला भनेर चिन्ता लिनुपरेन नि ! मरेपछि त फोकटमै अन्त्येष्टि हुनेरहेछ । त्यसको ग्यारेन्टी सरकारले लिइसकेको छ । अब मरेपछि सित्तैमा जलाउन पाइने भएपछि जीवनमा तनाव किन ? होइन र ?
 

टिप्पणीहरू