पतिलाई बलात्कारी भन्दै खोरमा पठाइयो

पतिलाई बलात्कारी भन्दै खोरमा पठाइयो

विवाहपछि महिलामाथि हुने यौन हिंसा वैवाहिक बलात्कार हो । नेपाली समाजले विवाहपछिको यौन सम्पर्कलाई मात्रै मान्यता दिन्छ । तर, नेपालको कानुनले भने श्रीमान्श्री/मतीबीच सहमतिविना यौन सम्बन्ध स्थापित गर्न नहुने व्यवस्था गरेको छ । 

मुलुकी अपराध संहिता २०७४ दफा ११९ को उपदफा ४ अन्तर्गत वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा पतिले पत्नीलाई जबरजस्ती करणी गरेमा पाँच वर्षसम्म कैद सजायँँ हुने उल्लेख छ । नेपालमा वैवाहिक बलात्कारको कानुन अन्य मुलुकको तुलनामा धेरैपछि आएको हुनाले कतिपयलाई यो नौलो विषय पनि हुन सक्छ । पछिल्लो समय श्रीमान्ले वैवाहिक बलात्कार ग¥यो भन्नेहरूको प्रहरीमा लर्को लागेको छ । 

यिनैमध्ये मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ३ पालुङका चन्द्रबहादुर पाख्रिन १० वर्षअघि दक्षिण कोरिया गए । विदेशमै रहँदा परिवारले विवाह गर्न दबाब दिएपछि केटी खोज्न भने । सोही नगरपालिकाको ४ नम्बर वडाकी बरिना बलसंग विवाहको कुरा चल्यो र ०७२ असार ३० गते परम्पराअनुसार विवाह भयो । चन्द्र बच्चा जन्माउने योजनामा थिए । तर, बरिनाले भने नमान्दा खटपट भइरहन्थ्यो । त्यसैबीच चन्द्र कोरिया गए । र, फर्केपछि  श्रीमतीसँग बच्चाको विषयमा कुरा गरे । तर, बरिनाले अर्काको बच्चा ‘एडप्ट’ गर्ने बताइन् । अब सम्बन्धमा झनै दरार आयो । पटकपटक एउटै कुरा राख्दाराख्दै वाक्कदिक्क भइसकेका उनी फेरि विदेशतिर लागे । यता, श्रीमतीको अर्काको बच्चा ल्याएर राख्ने क्रम रोकिएन । ललितपुरको हरिसिद्धी बस्दै आएकी उनी कहिले कसको बच्चा लिएर घर आउँथिन् कहिले कसको । घरपरिवारले गाली गरेपछि बच्चा ल्याएकै ठाउँमा पु¥याउँथिन् । केही महिनाअघि घरमा एउटी गर्भवती महिला ल्याएर राखिन् । चन्द्रको अभिभावक प्रायः जसो गाउँघरमा बस्ने भएकाले कसैलाई पनि सो विषयमा जानकारी गराइनन् । 

तर, त्यसबारे बाहिर गाइँगुइँ चलिसकेको थियो । चन्द्रकी आमा बुहारीको हालचाल बुझ्न भन्दै ललितपुर आइन् । घरमा गर्भवती महिला देखेपछि आश्चर्यचकित बनिन् । ‘म आउँदा त अचम्भित भएँ । घरमा दुई जिउकी महिला थिइन् । कसको श्रीमती हो भनेर सोधेँ । बुहारीले बच्चा पाएपछि आफूले राख्ने योजना बनाएकी रहिछन्, कसैलाई नभन्नु भनेकी थिइन् । तैपनि, छोरालाई भनिदिएँ । अब कसको श्रीमती हो ? किन ल्याएको हो ? बुझ्नु त प¥यो नि !’

चन्द्रले बारम्बार सो महिलालाई त्यहाँ नराख्न र आफ्नै घर फर्काउन भनेका थिए । तर, बरिनाले मानिनन् । त्यसैबीच, उनै स्त्रीले थापाथली प्रसूतिगृहमा बच्चा जन्माइन् । बरिनाले बच्चाको स्याहारसुसारका लागि भन्दै पैसा मागेपछि चन्द्रको केही लागेन । र हार खाएर दुई लाख रूपैयाँ पठाइदिएको परिवारको भनाइ छ । ‘दाइ कोरियामा हुँदादेखि नै भाउजूले त्यो बच्चा आफैं पाल्ने र दाइकै नाम राख्ने भन्दै दबाब दिइरहनुभएको रहेछ । दाइले चाँहि अर्काको बच्चा राख्नुहुँदैन । बरु सहयोग गर्छु भनेर पैसा पठाइदिनुभयो । तर, भाउजू मान्नु भएन’, भाइ प्रकाश पाख्रिनले भने । 

चैत ८ गते चन्द्र नेपाल फर्किए । घर आइसकेपछि पनि सोही कुरामा विवाद हुन थाल्यो । उनले त्यो बच्चा आफैँ राख्ने भन्दै आएकी थिइन् । चन्द्रले भने आफ्नै बच्चा जन्माउने अडान कस्दै आएका थिए । चन्द्रले आमाकै जिम्मा लगाउन भनेपछि बरिनाले सो बच्चा माइती लगेर छाडिन् । बच्चाकी आमालाई दिन बाँकी रहेकाले बरिनाले चन्द्रसंग पैसा मागिरहेकी थिइन् । ठूलै रकम भएकाले चन्द्रले दिन मानेनन् । चन्द्रले पैसा नदिने र अर्काको बच्चा पनि नराख्ने अडान कसेपछि बरिनाले गत वैशाख २० गते महानगरीय प्रहरी वृत्त, ललितपुरको सातदोबाटोमा वैवाहिक करणीको उजुरी दिइन् । प्रहरीले सोही दिन चन्द्रलाई पक्राउ ग¥यो । हाल थुनामा छन् । 

एमालेमा सक्रिय बरिना आकलझुक्कल मात्र घर आउने गर्थिन् । स्थानीय तह चुनावमा थाहा नगरपालिकाको उपमेयरमा उम्मेदवारी दिन खोजेकी थिइन् । तर, श्रीमान््ले पैसा नपठाइदिएपछि पछि हटिन् । त्यसपछि उनीहरूबीच झनै मनमुटाव बढ्यो । अहिले आएर भाउजूले त्यसकै रिस पोखेको प्रकाशको आरोप छ । यता, चन्द्रको परिवारले नवजात शिशुबारे अनुसन्धानको माग गर्दै प्रहरी र जिल्ला प्रशासन कार्यालय, ललितपुरमा उजुरी दिएको छ । 

चन्द्रको परिवारले लगाएको सबै आरोप झुटो भएको बरिनाको ठोकुवा छ । श्रीमान्ले बेवास्ता गरेकाले लामो समय माइती नै बसेको उनको भनाइ छ । बच्चाको विषयमा बताउँदै भनिन्, ‘म पहिल्यैदेखि समाजसेवा गर्छु । राजनीतिमा पनि चासो छ । तर, उहाँहरूले त्यो बुझ्नुभएन । जहिले पनि अरु केटा लिएर हिँड्यो भन्दै गाली गर्नुहुन्थ्यो । श्रीमान्ले कहिल्यै राम्रो व्यवहार गर्नु भएन । पटकपटक सम्बन्धविच्छेद गर्न खोज्नुभएको थियो । मैले मानेकी थिइन । ती महिलाको श्रीमान्् मरेको र अवस्था एकदम नाजुक भएकाले घरमा ल्याएर राखेकी हुँ ।’ 

कोरियाबाट आइसकेपछि चन्द्रले आफूलाई पटकपटक जबरजस्ती करणी गरेको र अति नै भएपछि प्रहरीमा उजुरी दिएको उनी बताउँछिन् ।

(जनआस्था साप्ताहिकबाट साभार)

टिप्पणीहरू