नयाँ दलको लर्को, कसलाई पर्ने हो चर्को ?
गत भदौ २३ गतेको जेनजी प्रदर्शन र २४ गतेको विध्वंशले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढालेपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा सरकार बनेको साढे तीन महिना बितेको छ । यो सरकारले आउँदो फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन गराउँदैछ ।
सोहीबमोजिम निर्वाचन आयोगले चुनावी गतिविधि अघि बढाइसकेको छ । भोट हाल्न चाहनेहरू मतदाता नामावलीमा दर्ता भइसकेका छन् ।योपटक पुराना राजनीतिक दल र थुप्रै नयाँ पार्टी भिड्दैछन् । विभिन्न पेशा र पृष्ठभूमिका व्यक्तिहरू दल खोलेरै होमिएका छन् । स्थानीय तहका जनप्रतिनिधिदेखि डाक्टर, कानून व्यवसायी, पाइलटलगायत विविध पेशाका व्यक्तिहरू आफ्नै पार्टीमार्फत चुनावमा सहभागी हुँदैछन् ।
यसले चुनाव रोचक हुने त पक्का छ, सँगै मत बदल्ने मनस्थितिमा नयाँ अर्थात् युवा पुस्ता देखिएका छन् । चुनाव नजिकिएसँगै युवा पुस्तामा उत्साह छाएको छ । यसअघि उमेर पुगेर पनि भोट नहालेकाहरूसमेत यो पटक मतदानमा सहभागी हुन इच्छुक देखिएका छन् ।सामान्यतयाः राजनीतिप्रति युवा पुस्ताको चासो नरहे पनि भदौ २३ र २४ गतेको आन्दोलनपछि भने धेरैको सोचमा परिवर्तन आएको छ । एक भोटले पनि राम्रो नेतृत्व ल्याउन सहयोग पु¥याउने आशाका साथ उनीहरूले भोटर लिष्टमा आफ्नो नाम दर्ता गराएका छन् ।
एकातिर चुनावमा सहभागिताका निम्ति नयाँ दलको लर्को, अर्कोतिर पुराना दल र नेताको कार्यशैलीप्रति वितृष्णा जागेका युवा पुस्ताको बढ्दो संख्याले यो पटक नयाँ नेतृत्वको आगमन हुनसक्ने संकेत दिएको छ । यद्यपि, २७ घण्टे आन्दोलनमार्फत तत्कालीन राज्यसत्ता र राजनीतिमा ठूलो हलचल ल्याएका जेनजी पुस्ताको चुनावपछि उदय हुने सम्भावना भने कमजोर बन्दै गएको छ ।
छरपष्ट रहेका उनीहरूले न एकीकृत भई पार्टी गठन गर्न सके न चुनावमा सहभागी हुने छाँटकाँट नै देखिन्छ । अझ आफूलाई जेनजी अगुवा दाबी गर्दै आएकाहरू एकपछि अर्को विवादमा मुछिने क्रम जारी छ । चुनावका निम्ति जनमानसमा घुलमिल र संगठन निर्माणतिर लाग्नुभन्दा पनि कहिले सिंहदरबार त कहिले बालुवाटार घेरेर उनीहरूको दिन बितिरहेको अवस्था छ ।यसले आउँदो चुनावका निम्ति जेनजीहरू कमजोरमात्र बनिरहेका छैनन्, पुराना दल र नयाँका नाममा उही राजनीतिक नाटक दोहोरिने र गलत नेतृत्व सत्तामा पुग्ने अवसरसमेत सिर्जना भएको छ । साथै, कमजोर एजेण्डा र नेतृत्वका कारण जेनजी आन्दोलनको औचित्य संकटमा पर्न थालेको छ ।
कस्तो नेतृत्व चाहन्छन् युवा
क्षणभरमै इतिहास बोकेका राजनीतिक दल र नेताको अस्तित्व धरापमा पार्न सफल जेनजी पुस्ता आखिर आउँदो चुनावपछि कस्तो नेतृत्व चाहन्छ त ? उनीहरू पुरानै दललाई मौका दिन चाहन्छन् कि नयाँ ? नयाँ भए कस्ता ? यो चौतर्फी चासोको विषय हो । भक्तपुरको सूर्यविनायक बस्ने २१ वर्षीया अस्मिता अधिकारी अबको चुनावमा राम्रो प्रतिनिधि चुनिनुपर्ने बताउँछिन् । लोभी र स्वार्थी होइन, देश र जनताका निम्ति त्याग गर्न सक्ने, नयाँ सोच र भिजन भएका व्यक्तिलाई जिताउनुपर्ने उनको भनाइ छ ।
भन्छिन्, ‘जेनजी आन्दोलनलाई नजिकबाट हेरेँ । देशमा परिवर्तनका निम्ति समय आएको महसुस भयो । त्यसकारण अघिल्लो चुनावमा सहभागी नभएकी म यो पटक भोट हाल्ने निर्णयमा पुगेकी छु । यसपालि राम्रो व्यक्तिलाई जिताउनुपर्छ ।’काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–२, सिम्थली घर भएका २४ वर्षीय उमेश कार्कीले गत कात्तिक दोस्रो साता जिल्ला निर्वाचन कार्यालयमै पुगेर नाम दर्ता गराए । विगतमा राजनीति र निर्वाचनप्रति खासै चासो नराख्ने उनको जेनजी आन्दोलनपछि भने सोच बदलिएको छ । ‘अहिले राजनीतिबारे बुझ्दैछु । राम्रो व्यक्तिलाई जिताएन भने जनताले दुःख पाउँदा रहेछन्, त्यसकारण यो पटक नाम दर्ता गराएको हुँ,’ उनले भने । यस्तै, मोरङको विराटनगर घर भई काठमाडौंको सुन्धारा बस्दै आएका २८ वर्षीय अच्युत पोखरेल आउँदो चुनावमा नयाँ र सक्षम व्यक्तिलाई भोट हाल्न आतुर छन् । अघिल्लो चुनावमा राजनीतिक दलका उम्मेदवारलाई मतदान गरेका उनी यो पटक भाषणभन्दा पनि काम गर्नसक्ने क्षमता भएका व्यक्तिलाई भोट हाल्ने बताउँछन् ।
आठ लाखभन्दा बढी नयाँ मतदाता
जेनजी प्रदर्शनपछि प्रतिनिधिसभा विघटन भई चुनाव घोषणा भएपश्चात् आठ लाख बढी मतदाता थपिएका छन् । निर्वाचन आयोगका अनुसार असोज ९ गतेदेखि मंसिर ५ गतेसम्म खुला गरिएको नामावली दर्तामा आठ लाख ३७ हजार ९४ जना थपिएका छन् । जसमा चार लाख ७३ हजार तीन सय ४५ जना पुरुष र तीन लाख ६३ हजार सात सय ७८ जना महिला छन् । अन्यमा ६१ जना छन् । थपिएकासहित मतदाताको कूल संख्या एक करोड ८९ लाख ७२ हजार २४ पुगेको छ । निर्वाचन आयोगका अनुसार थपिएको मतदातामा जेनजी वा युवा पुस्ता कति छन् ? यकिन हुन बाँकी छ ।
आयोगका सूचना अधिकारी सुमन घिमिरे यसपालि मतदाता नामावली दर्तामा युवा पुस्ताको सहभागिता बढी देखिएको बताउँछन् । कुन उमेर समूहका कति छन् ? यकिन भइनसकेको बताउँदै उनले थपे, ‘विगतको तुलनामा यो पटक युवाहरू बढी देखिए ।’
कति दल दर्ता ?
निर्वाचन आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईका अनुसार हालसम्म एक सय ४३ दल दर्ता भएका छन् । यसअघि मंसिर १० गतेसम्म समय रहेकोमा आयोगले मंसिर १४ गतेसम्मका लागि थपिएको हो ।
कलाकार पनि सक्रिय
चुनाव नजिकिएसँगै कलाकारहरू पनि सक्रिय हुन थालेका छन् । जेनजी आन्दोलनलाई धेरैजसो कलाकारले समर्थन गरेका थिए ।सामाजिक सञ्जालमार्फत वा घटनाको दिन फिल्डमै पुगेर साथ दिएका कारण नाम चलेका केही कलाकार विवादमा तानिए । भीडलाई उक्साएको, सार्वजनिक तथा निजी सम्पत्तिमा आगजनी गरेको आरोप कतिपय कलाकारमाथि लागेको छ । यसरी भीड उकासेको आरोप लागिरहँदा कलाकारहरू नयाँ राजनीतिक दलमा सहभागी हुने क्रम बढिरहेको छ । अभिनेत्री तथा कार्यक्रम प्रस्तोता रिमा विश्वकर्मा उज्यालो नेपाल पार्टीमा आबद्ध भएकी छन् ।
ऊर्जा तथा शहरी विकासमन्त्री कुलमान घिसिङले बनाएको भनिएको सो पार्टीबाट औपचारिक यात्रा शुरु गरेकी उनी आउँदो चुनावमा उठ्ने चर्चा छ । अर्की अभिनेत्री निशा अधिकारीले पनि गतिशील लोकतान्त्रिक पार्टीबाट राजनीतिक यात्रा थालेकी छन् । बुद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेतले स्थापना गरेको उक्त पार्टीमा उनी केन्द्रीय सदस्य बनेकी छन् । यस्तै, चलचित्रबाट हात झिकेकी ऋषि धमलापत्नी एलिजा गौतम जनादेश पार्टीको उपाध्यक्ष बनेकी छन् ।
०७९ मंसिरको चुनावमा टिकट पाउने आशाका साथ अभिनेत्री करिश्मा मानन्धर एमालेमा सक्रिय भएकी थिइन् । केही समय निकै सक्रिय रहेकी उनी केही वर्षयता निष्क्रिय छिन् ।यस्तै, अभिनेत्री रेखा थापा र मोडल खुश्बु ओली राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा आबद्ध छन् । यसरी चुनावका बेला राजनीतिमा सक्रिय हुने तर टिकट नपाएपछि वा हार खेपेपछि विश्राम लिने प्रवृत्ति यो पटक पनि दोहोरिन्छ कि जेनजीका निम्ति कलाकारहरूले पनि आफूमा परिवर्तन ल्याउँछन् ? हेर्न बाँकी छ ।
(जनआस्था साप्ताहिकको मंसिर १७ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू