‘ब्लाइण्ड क्राइम इन्भेष्टिगेसन’ मा सफलता

‘ब्लाइण्ड क्राइम इन्भेष्टिगेसन’ मा सफलता

भीडले गिजोलेन र राजनीतिक दबाब आएन भने सुराक नभेटिएको घटनामा पनि ढिलोचाँडो दोषीलाई कानुनी कठघरामा उभ्याउन सकिन्छ भन्ने उदाहरण मोरङ प्रहरी बनेको छ । १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या घटनामा प्रहरीले दुई महिनापछि दोषीलाई पक्राउ गरेको छ । गत असोज २१ गते मोरङको लेटाङ नगरपालिका–२, बुधबारेमा कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याजस्तै घटना भयो । 

हराएको १८ दिनपछि अर्थात कात्तिक ७ गते अंशु गौतमको घरदेखि चार किमी दक्षिणको घना चारकोशे जंगलभित्र सडिसकेको अवस्थामा शव फेला पर्यो । घटना निर्मलाको जस्तै बन्ने देखेपछि स्थानीयले प्रहरीलाई चर्को दबाब दिए तर उनीहरुले आन्दोलन गरेनन् । जसका कारण घटना राजनीतिकरण हुन पाएन । शव खोज्नदेखि हत्यारा पत्ता लगाउन सिंगो समुदायले नै प्रहरीलाई सहयोग गरे । 

प्रहरीले ५० जनालाई हस्ताक्षर गरायो भने तीन सय बढीसँग सोधपुछ गर्यो । सुराकबिनाको अपराध भएकाले प्रहरीलाई अपराधको कारण खोज्न पनि निकै सकस परेको थियो । प्रहरीले सिंगो समुदायको प्रोफाइल सर्च गर्नुपरेको थियो । त्यसपछि घटनास्थलको फरेन्सिक जाँचसहित जंगलमा फेला परेको दुई टुक्रा शवको समेत डिएनए परीक्षण गराइएको थियो । जसबाट शव अंशुको भएको यकिन भयो । 

तर, दुई महिनासम्म प्रहरीले दोषी पत्ता लगाउन सकेन । सिआईबी, प्रदेश प्रहरीको विशेष अनुसन्धान ब्यूरो र मोरङ प्रहरीको अनुसन्धान समितिसहित १६ जना प्रहरीले लेटाङमै बसेर अनुसन्धान गरेका थिए । तर, हत्याराको कुनै सुराक पाउन नसकेपछि प्रहरी हैरान बनेको थियो । अन्तिममा नागरिकहरुबाटै हत्याको शंकास्पद व्यक्तिको सुराक पत्ता लाग्यो । गाउँमा सँधै साँझ गाउँलेहरु समूहमा तास खेल्ने गर्थें । 

यद्यपि, दुई महिनादेखि एक वृद्द तास खेल्न आइरहेका थिएनन् । त्यसपछि शंकाको सुइँ उनीतिर मोडियो । पहिलेपनि एक महिलालाई गर्भवती बनाएको आरोप लागेका ती वृद्दको सूचना उनीहरुले प्रहरीलाई उपलब्ध गराए । अपुष्ट सूचना पाएको प्रहरीले ती व्यक्तिको हिस्ट्री चेक गर्यो । ती वृद्दले अंशुलाई घरमा बोलाएर मोबाइल चलाउन दिन्थे । जसका कारण अंशुको आमाबुवासँग उनको झगडा परेको थियो । 

त्यसपछि प्रहरीले जनप्रतिनिधिमार्फत भारतको आसामस्थित मेघालय पुगेका उनलाई फकाएर बोलायो । घर आउनेबित्तिकै उनलाई नियन्त्रणमा लिएर सोधपुछ गरियो । ५९ वर्षीय पदमबहादुर अधिकारीले यौन आवेशमा आएर अंशुको बलात्कार गरेको र घाँस काट्ने हँसियाले घाँटी रेटेर हत्या गरेको स्वीकारे । प्रहरीका अनुसार उनले अंशुलाई घाँस काट्न भनि झुक्याएर जंगल पुर्याएका थिए । 

हत्या गरेको दिनदेखि नै उनी गाउँमा तास खेल्न जान छोडेका थिए । तर, उनले अंशुमा घरमा गएर दुःख प्रकट गर्ने, प्रहरीलाई शव खोज्न सघाउने गर्थें । प्रहरीले नसकेपछि सेनाले समेत अंशुको शव खोजेको थियो । पक्राउ पर्ने डर भएपछि उनी काम गर्न भनि भारत गएका थिए । अंशुको घटनामा अनुसन्धान गर्न वडाध्यक्षले चार लाख रुपैयाँ सहयोग गरेका थिए । यदि, निर्मलाको जस्तै भीडले घटना अतिरञ्जित गरेको भए, सायदै अंशुको हत्यारा पत्ता लगाउन सकिन्थ्यो । 

मोरङका एसपी कवित कटुवालले अनुसन्धानका निम्ति अप्रेशन नै सञ्चालन गरेको बताए । उनले भने,‘हामीले जस्टिस फर अंशु अप्रेशन नै सञ्चालन गरेका थियौं । स्थानीयले हामीलाई निकै सहयोग गर्नुभयो र हामी अनुसन्धानमा सफल भयौं ।’

के हो ‘ब्लाइण्ड क्राइम इन्भेष्टिगेसन’ ? 

अपराधशास्त्रीहरुका अनुसार ‘ब्लाइण्ड क्राइम इन्भेष्टिकेशन’ भनेको कुनै सुराक फेला नपरेको, प्रत्यक्षदर्शी नभएको अपराध हो । यस्तो अनुसन्धान एकदमै जटिल हुन्छ । निरन्तर फलोअप नभएमा प्रमाण नासिने र अपराधको रहस्य नखुल्ने जोखिम हुन्छ । फलोअपले नै यस अनुसन्धानलाई किनारा लगाउन सक्छ । प्रहरीले अपराधपछि वैज्ञानिक प्रमाण जुटाउने, घटनास्थल व्यवस्थापन गर्ने, आफन्त–छिमेकी र शंकास्पद व्यक्तिहरुलाई सोधपुछ गर्ने, मोटिभ विश्लेषण गर्छ । 

अपराध कानुनविज्ञ अधिवक्ता केशव पन्त ब्लाइण्ड क्राइमको अनुसन्धान आफैंमा जटिल हुने बताउँछन् । घटनाको निष्कर्षमा पुग्न लामो समय लाग्ने उनको जिकिर छ । ‘यो एकदमै गाह्रो अनुसन्धान हो । यस अनुसन्धानमा जति चाँडो निष्कर्षमा पुगिन्छ, त्यति नै अनुसन्धान गर्ने अधिकारी र टिमले सफलता पाउँछ’,स्रोत भन्छन् । यस्तो अनुसन्धानमा नागरिकहरुले घटनालाई अतिरञ्जित गरेर राजनीतिकरण गरेर मोडिदिँदा प्रहरी अलमलमा पर्ने र अनुसन्धान प्रभावित हुने उनको जिकिर छ । 

यी घटना अझै रहस्यमय 

०शुको घटनामा हत्यारा पत्ता लागेपनि अन्य धेरै घटना अझै रहस्यमय नै छ । २०७५ मा भएको निर्मला प्रकरण, २०५० मा चितवनको दासढुंगामा भएको एमाले नेता मदन भण्डारीको हत्या, सिआईबीले १४ वर्षपछि पत्ता लगाएको रानीबारी हत्याकाण्ड, २०६७ मा घटेको जमिम शाह हत्या, न्यायाधीश रणबहादुर बम हत्याकाण्ड ब्लाइण्ड क्राइम हुन् । यीमध्ये केही सुल्झिएपनि यी अझै रहस्यमय नै छ ।

टिप्पणीहरू