सिंहदरबारमा दिनदिनै ठूलो स्वर
‘शहीद, घाइतेको रगतमा सरकार बन्ने, हामीलाई भेट्न नदिने ?’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जुँगाको रेखी नबसेका केही युवा यसैगरी पड्किँदै थिए । निजी सचिवको बिषयलाई लिएर बिहान ११ बजे नै पुगेका उनीहरूलाई प्रधानमन्त्री व्यस्त भएको भन्दै कुराइएको र साँझसम्म भेट्न नपाएका कारण कर्मचारीमाथि खनिने र झम्टिने क्रम जारी थियो । टोलीमा मिराज ढुंगाना र कर्णाली जेनजी समूहको नेतृत्व गर्दै सुप्रिया राज्यलक्ष्मी शाहीहरू पुगेका थिए । त्यही टोलीका हुन् जितेन्द्रप्रताप साह । मध्याह्नतिर उक्त टोली खेलकुदमन्त्री बब्लु गुप्ताको कार्यकक्षतिर पुग्दा अर्काे जेनजी समूहसँग मुक्कामुक्की भएर सिंहदरबार हेर्ने डिएसपी सिद्धराज न्यौपानेलाई गुहार्नु परेको थियो । ‘जेनजीका नाममा हाम्रो कोठा–कोठा पुगेर धम्क्याउने, तर्साउने गतिविधि हुन थालेको छ, काम गर्ने वातावरण छैन ।’ एक सहसचिव भन्छन् ।
गत ९ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर दिनभर जेनजीको समूहले होहल्ला गर्यो । १० गते दिउँसो उर्जा मन्त्रालयमा उस्तै अराजकता देखियो । गत साता गृहमन्त्री ओमप्रकाश अर्यालको कार्यकक्षमा धर्ना दिइयो । हरेक मन्त्री, सचिवको कार्यकक्षमा अचेल सेवाग्राहीभन्दा जेनजीका समूहहरू देख्न पाइन्छ । उता निजामतीभित्र जेनजी समूह गठन हुनुपर्ने भन्दै आएका सहसचिव सुवास शिवाकोटी प्रधानमन्त्री कार्यालयबाट सरुवा भएर सञ्चार मन्त्रालयमा पुगेका छन् । उनले कार्यकक्षमा जेनजी कर्मचारीहरूको दिनदिनै भेला गर्ने, विदाको दिन पनि सरकारी गाडी प्रयोग गर्ने, सरकारी सवारीमा लोकसेवा तयारी कक्षा पढाउन जाने गरेको कर्मचारीहरू बताउँछन् । सुवाष मधेश प्रदेशको अर्थ सचिव हुँदा ९ अर्ब उठाउने अनुमान राखेर बजेटलाई कन्तबिजोग बनाउने पात्र हुन् । सोही कारण युएसएआइडीबाट आएको सहयोग रोकिई लुम्बिनी प्रदेशतिर डाइभर्ट भएको थियो ।
निजामतीभित्र आदर्श मानिएका डाक्टर सहसचिव छन् । काठमाडौंको चोभारमा जेठीसँग बस्दै आएका उनी पितृ वियोगमा हुँदा घाटमै आएर एक महिलाले ‘आफूले ससुराको काजकिरिया गर्न पाउनुपर्छ ।’ भन्दै रुवावासी गर्न थालेपछि बल्ल थाहा लाग्यो दशकअघि नै ‘कान्छी’ भित्र्याई महाराजगञ्जमा राखेका रहेछन् । कान्छीतर्फबाट ९ बर्षको छोरा रहेको तथ्य त्यसपछि बाहिरिएको छ । स्वास्थ्य सचिव डा. विकास देवकोटाले स्वास्थ्य सेवाकै उपल्लो तहमा कार्यरत पत्नीसँग डिभोर्स गरी अर्को घरजम गरेका छन् ।
(जनआस्था साप्ताहिकको मंसिर १७ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू