कल्याण श्रीमान, नहुनु है थप बदनाम

कल्याण श्रीमान, नहुनु है थप बदनाम

बिचौलिया र भ्रष्टाचारीको घेरामा रमाउन थालेपछि व्यक्ति कतिसम्म अन्धो हुन्छ ? जल्दोबल्दो उदाहरण पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ हुन् । उनी कहिले भ्रष्टाचारमा जेल जानै लागेका कर्मचारीसँग हेलिकप्टरमा लुक्ला घुम्न जान्छन् त कहिले नक्कली कागजात पेश गरेर सरकारी नियुक्ति लिनेको पक्षमा सर्वोच्चका न्यायाधीशलाई फोन घुमाइरहन्छन् । 

पछिल्लो दिनमा उनी मल काण्डमा मुछिएका व्यापारीलाई बचाउन कम्मर कसेर कुदेको देखियो । ललितपुरको पुल्चोकस्थित लबिम मलको तेस्रो तलामा ‘लेभल थ्री’ नामको रेष्टुरेण्ट छ । 

मालिक हुन्, राजेन्द्रभक्त श्रेष्ठ । भैंसेपाटी बस्ने राजेन्द्रले ठेक्कापट्टाको कामसमेत गर्दै आएका छन् । ठूलो परिमाणमा मल आयात गर्ने उनीविरुद्ध अख्तियारले केही वर्षअगाडि विशेष अदालतमा मुद्दा दायर गरेको थियो । मलमा ढुंगा हालेर तौल मिलाएको भन्दै अख्तियारले दुई अर्ब रुपैयाँ बिगो मागदाबी गरेको थियो । अर्बको बिगो मागदाबी गरिएकोमा विशेषले २० लाख रुपैयाँ धरौटीमा छोडिदिएको हो । जसविरुद्ध अख्तियार सर्वोच्च अदालत गएको छ । र, मुद्दा विचाराधीन छ ।

अदालत नजलेको भए, अहिलेसम्म मुद्दा मिलाइसकिएको हुन्थ्यो । राजेन्द्रभक्तले कल्याण श्रीमानलाई भनेका छन् । उहाँ पनि कुरा मिलाउन मरिमेटेरै लागिपर्नुभएको छ ।’ न्यायालयबाट बाहिरिइसकेपछि पनि न्यायाधीशहरुमाथि प्रभाव पारिरहेका श्रेष्ठले पदमा हुँदा केसम्म गर्थें होलान् ?

श्रेष्ठले एउटा मुद्दामा सरकारलाई हराएर विदेशी कम्पनीलाई जिताइदिएका थिए । नेपाल टेलिकमले गरेको टेण्डर चाइनिज कम्पनीले पाएको थियो । कम्पनीले बेलैमा काम नगरेपछि टेलिकमले धरौटी रकम जफत गरिदियो । जसविरुद्ध कम्पनी अदालत गयो । टेलिकमले कानुनबमोजिम धरौटी रकम जफत गरेकोमा श्रेष्ठको इजलासले सिधै कम्पनीको पक्षमा फैसला सुनाइदियो । 

कम्पनीको जफत फुकुवा भयो भने सरकारले हार व्यहो¥यो । त्यतिबेला पनि उनको नाममा पैसा उठाइएको स्रोतको जिकिर छ । ‘मुद्दा परेपछि चिनियाँ कम्पनीसँग उहाँको नाममा पैसा उठाइएको छ । नत्र सरकारले जित्नुपर्ने मुद्दामा कम्पनीको जीत नै हुँदैनथ्यो’,स्रोतले भन्यो । 

विशेषका तत्कालीन अध्यक्ष गौरीबहादुर कार्कीले २८ करोड बिगो मागदाबी भएको एउटा मुद्दामा १४ करोड धरौटी मागेका थिए । तर, दुई अर्ब रुपैयाँ बिगो मागदाबी गरिएकोमा २० लाख रुपैयाँ धरौटीमै छोडिएको घटना पनि छ ।

(जनआस्था साप्ताहिकको मंसिर २४ गते बुधबारको अंकमा प्रकाशित) 

 

टिप्पणीहरू