सैनिकका सन्तानलाई थप समस्या

सैनिकका सन्तानलाई थप समस्या

नेपालीमा एउटा उखान छ– एउटा लाल्टिनले सयौं कोश टाढासम्म उज्यालो प्रदान गर्छ तर स्वयं लाल्टिनको मुनि भने अँध्यारो नै हुन्छ र उज्यालोको प्रकाश पुग्दैन । आज राष्ट्रियताको सवालमा होस् वा विकासको कार्यमा– सेनाले देश र जनताका लागि उत्कृष्ट कार्य गर्दै आइरहेको सर्वविदितै छ ।

पछिल्लो जेनजी आन्दोलनताका चिफसापले राष्ट्र र जनताको हितका लागि जुन निर्णय लिनुभयो, त्यसले सेनाको कद र उचाइ अझ बढेको प्रसंग हामी जहाँतहीँ सुन्ने गर्दछौं तर केही राजनीतिक दलबाट भौतिक सम्पदा जोगाउन नसकेको आरोप खेप्दै आएका छौं । कमाण्डरको एक आदेशमा प्राण आहुति दिन तत्पर जवानका लागि माथिल्लो निकायबाट केही कल्याणकारी सुविधा उपलब्ध भएका छन् ।

द्वन्द्वग्रस्त देशहरुमा शान्ति कार्य गरेबापत प्राप्त रकमको झण्डै ३३ प्रतिशत कटौती गरी सेनाले कल्याणकारीअन्तर्गत अस्पताल र स्कूल चलाइरहेको छ । सरकारले यस्ता पुण्य कर्ममा सहयोग गर्न नचाहेको वा जर्साबहरुबाट प्रस्ताव नगरिएको हो– हामीजस्ता तल्लो दर्जाका सैनिकलाई जानकारी भएन ।

निश्चित समयसम्म जिम्मेवारी पूरा गरी अवकाशपश्चात परिवारको पालनपोषण र बालबच्चाको शिक्षा–स्वास्थ्यका लागि वैदेशिक रोजगारीमा जानु निर्विकल्प बन्दै गएको छ ।  यस्तो अवस्था सिर्जना हुनु अत्यन्त दुःखद् कुरा हो । आजको यस्तो महँगीमा सेनाले स्कूल र अस्पताल विस्तार गरी दुईवटा बच्चालाई अनिवार्य आफ्नैमा पढाउने जिम्मेवारी लिन किन सकेको छैन ? बजेट अभावले कि इच्छाशक्ति नभएर ? आज सैनिक स्कूलमा हाम्रा छोराछोरीभन्दा किन पब्लिकका सन्तानलाई बढी महत्व दिइँदैछ ? बजेट अभाव भनौं भने कल्याणकारीको करिब पौने खर्ब बजेट सबै फिक्स्ड डिपोजिटमा मात्र राखिएको छ ।

सेनाले पब्लिक स्कुलमा पढ्ने एक सन्तानको महिनावारी फि तिर्दै आएकोमा यस वर्षबाट २५ हजारको मात्र स्वामित्व लिने, अरु स्वयंले तिर्नुपर्ने चर्चा भइरहेको छ । यो जिम्मेवारी लिएको युनिटले यस्तो निर्णय लिएको हो वा माथिल्लो निकायबाटै निर्देशन भएको हो ? नेपालका विभिन्न ठाउँको फि कतै मासिक २ हजार होला त कतै ३–४ हजार । पहिला उपलब्ध गराउँदै आएकोमा हाल के अप्ठ्यारो पर्‍यो र कटौती गर्न थालियो ? यस्तै कारणले हो– जवानहरुले पेन्सनसमेत माया मारेर १७–१८ वर्षमै जागिर छाड्दै विदेशिन बाध्य हुनुपरेको । 

कल्याणकारी अस्पतालमार्फत सुविधा लिएकाका दुई सन्तानको मात्र उपचार गर्ने नीति बसालिएको छ । एउटै परिवारमा कुनैले आर्मी अस्पतालमा उपचारको सुविधा पाउँदा अर्कोले पाएन भने उसको विकसित हुँदै गरेको दिमागमा कस्तो असर पर्ला ? विकसित समयमा हजारमा एकादुईले मात्र दुईभन्दा बढी सन्तान जन्माएका होलान् । त्यसमा पनि तीन सन्तानभन्दा बढी कमैको मात्र हुन्छ ।

मानिसको बाँच्न पाउने अधिकार सुरक्षित गर्दा यति जना छोराछोरीले मात्र उपचार पाउने भन्नुको सट्टा बरु छोराछोरी, आमाबाबु जो–जो भए पनि जम्मा ६ जना भनेर कोटा तोक्नु नि ! सैनिकका छोराछोरीलाई अस्पतालले बाहिरी अस्पतालमा रिफर गरेको र लागेको रकम पनि छोराछोरीकै लागि दिन कञ्जुस्याइँ गरिँदै छ ।

यसरी बाहिर रिफर गरिएका सैनिकका छोराछोरीको उपचार गर्ने दायित्व हाम्रै सैनिक अस्पतालको हैन र ? एकातिर कल्याणकारीमा वार्षिक अर्बौं रकम थपिँदै जानु, अर्कातिर कल्याणकारीबाट स्वास्थ्य र शिक्षाको सुविधा कटौती हुँदै जानु मिल्दो कुरा होइन । त्यसैले तल्लो दर्जाको सुविधाका लागि केही त्रुटिहरुको परिमार्जन होस् भन्ने अपेक्षा र आशा लिएका छौं । 

– अवकाशप्राप्त जमदार (हाल वैदेशिक रोजगार), ब्रुनाइ
 

टिप्पणीहरू