आइजिपीलाई गृहले रोक्यो,एआइजीहरु अमेरिकातिर

आइजिपीलाई गृहले रोक्यो,एआइजीहरु अमेरिकातिर

आज साँझ अमेरिका उड्न ठिक्क परेका नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवर अन्तिम क्षणमा रोकिएका छन् । सरकारी औपचारिक कार्यक्रममा जान लागेका आइजिपी कुँवरको भ्रमण रोकिएपछि सिआइबीकी एआइजी किरण बज्राचार्यले टोलीको नेतृत्व गरेकी छन् ।

महानिरीक्षक कुँवरको भ्रमण अन्तिम क्षणमा रोकिएपछि एकाएक एआईजी किरणलाई पाँच सदस्यीय टोलीको नेतृत्वको जिम्मा दिइएको बताइएको छ । कुँवर श्रीमती र छोरासहित अमेरिका उड्न भीसा, टिकट सबैको व्यवस्थापन गरेर बसेका  थिए ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख भएकाले आइजिपीको ठाउँमा बज्राचार्यलाई पठाइएको गृह मन्त्रालय स्रोतले बताएको छ । ‘अनुसन्धान रिलेटेड कार्यक्रम भएकाले सिआइबी प्रमुखलाई पठाइएको हो,’ स्रोतको दाबी छ ।

टोलीमा आतंककारी कृयाकलाप हेर्ने विशेष ब्युरोका एआइजी सुदिप गिरी र डिआइजी रामदत्त  जोशी पनि छन् । त्यसैगरी एक जना एसएसपी र एक जना एसपीसमेत आजै अमेरिका उडेका छन् । 

मुलुकभित्र उत्पन्न नक्कली शरणार्थी प्रकरणका कारण महानिरीक्षकलाई यतै इङ्गेज गराइएको अनुमान छ ।

टिप्पणीहरू