देश होइन गृह चलाउने

देश होइन गृह चलाउने

उपचुनाव जितेर आएपछि रवि लामिछानेको पार्टीमा नयाँ मुद्दा खडा भएको छ– अब सरकारमा बस्ने कि छाड्ने ? लामिछानेको पार्टीमा अब चलिरहेको मूल मुद्दा नै यही बनेको छ । यही क्रममा लामिछाने पार्टीले सरकारसमक्ष केही शर्त राखेको समाचार सुन्नमा आएको छ । गृह मन्त्रालय दिए भने सरकारमा बस्ने । गृह नदिए सरकारमा नबस्ने । बटम लाइन भनेकै यही हो ।

लामिछाने पार्टीले गृह मन्त्रालय यसरी मागिरहेको छ मानौं यो पार्टीको जन्म भएकै गृह मन्त्रालय चलाउनलाई हो । शुरुमा त लागेको थियो, रास्वपा देश चलाउन आएको पार्टी हो । तर, अहिले बुझियो, यो पार्टी त गृह मन्त्रालय मात्रै चलाउन आएको रहेछ । जसको हैसियत केवल गृह चलाउने हो, त्यसले देश कसरी चलाउला र खै !

चुनावमा नारा त देश यसरी चलाउँछु, त्यसरी चलाउँछु भनेर खुबै भाषण गरेर आएको थियो । तर चुनाव जितिसकेपछि चाहिँ देश चलाउने होइन, गृह मन्त्रालय चलाउने भन्न थालेका छन् । देश चलाउँछु भनेर भोट माग्ने, अनि संसद् गएपछि चाहिँ गृह चलाउँछु भन्ने ? यो त जनतामाथि धोका भएन र भन्या ?
 

टिप्पणीहरू