बम गोला बोकेको मान्छे

बम गोला बोकेको मान्छे

रात होइन, दिउँसैको कुरा हो । भीडभाडमा एउटा शंकास्पद व्यक्ति पक्राउ परे । शंकास्पद किनभने उनी आफ्नो जिउलाई एउटा ठूलो खालको सलले ढाकेर हिँडिरहेका थिए । अहिले त्यस्तोविधि जाडो त छैन । तै पनि त्यति बाक्लो सल किन ओढेको होला ? प्रहरीलाई शंका लाग्नु स्वाभाविक हो । उनी पक्राउ परिहाले । 

प्रहरीले च्याप्प समातेर एउटा कुनातिर लग्यो । त्यसपछि शरीरको तलासी शुरु ग¥यो । तलासीमा जे कुरा भेटियो, त्यो देखेर प्रहरी पनि छक्क । ओहोहो.....के हो यो ? उनीसँग एउटा आधुनिक पेस्तोल रहेछ । साथै त्यसमा हाल्ने दुई वटा म्याग्जिन पनि । पीठमा एउटा झोला थियो । त्यसभित्र चार वटा बम । मोजामा एउटा आधुनिक चक्कु ।

आम्म्मामामा....त्यो देखेर प्रहरीको शुरुमा सातोपुत्लो उड्यो । त्यसपछि समातेर हेडक्वार्टर लिएर गयो । एउटै मान्छेका शरीरबाट यति धेरै हतियार । मुद्दा त लाग्छ लाग्छ । प्रहरीले मुद्दा चलाउने तयारी गरिरहँदा ती व्यक्तिले भने, ‘मलाई किन मुद्दा चलाउने सर ?’

प्रहरीका हाकिमले भने, ‘यति धेरै हतियार बोकेर आएका छौ । मुद्दा त चलिहाल्छ नि !’

उनले भने, ‘हतियार बोकेको पो छु । यसको दुरूपयोग त गरेको छैन नि ! कसैलाई हानेको छु ? कसैलाई मारेको छु ? गोली चलाएको छु ?’

‘अवैध हतियार बोकेपछि त अपराध भइहाल्यो नि,’ प्रहरीले भने । 

‘कसरी अपराध हुन्छ ?,’ उनले उल्टो प्रश्न सोधे, ‘हो, मैले हतियार बोकेको छु तर कसैलाई मारेको, हानेको, तर्साएको, धम्काएको त छैन नि । कसैलाई केही नगर्दा पनि मुद्दा लाग्छ ? कसरी लाग्छ ?’
मान्छेको त्यो तर्क सुनेर प्रहरीहरूले जम्मै आफ्नै ३९ दिने गृहमन्त्री रवि लामिछानेको तर्क सम्झिन थालेछन् !

 

टिप्पणीहरू