कसले गर्ने ‘प्रेम’,कसलाई पर्यो ‘मोबाइल’ ?
आउँदो फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिने राजनीतिक दलहरुलाई निर्वाचन आयोगले चुनाव चिन्ह बाँडेको छ । निर्वाचनमा भाग लिनका निम्ति आयोगमा दर्ता भएका एक सय १४ वटा दललाई एक सय सात वटा चुनाव चिन्ह प्रदान गरिएको आयोगले जनाएको छ।
आयोगका अनुसार एक दर्जन दलले पाँच समूह बनाई संयुक्त चुनाव चिन्हमा निर्वाचन लड्दैछन् । त्यस्तै, एक सय दुई दलले एक्लाएक्लै चुनावमा भाग लिने भएका छन् । चुनावमा भाग लिन आयोगमा एक सय २० वटा दलले निवेदन दिएका थिए । तीमध्ये १३ वटा निवेदन खारेज भएको आयोगले जनाएको छ ।
आयोगका अनुसार आठ वटा एकलमा जाँदा एउटा दलले निवेदन फिर्ता लिएको छ । एउटा दलको निवेदन जरिवाना नतिरेर खारेज भएको, एक दलको दोहोरो निवेदन परेको र दुई दलको एकलबाट एउटा निवेदन खारेज भएको आयोगको भनाइ छ ।
मोबाइलदेखि सिठ्ठीसम्म चुनाव चिन्ह
आउँदो निर्वाचनमा ‘मोबाइल’, ‘बस’, ‘प्रेम’, ‘खरायो’ देखि ‘सिठ्ठी’ सम्म चुनाव चिन्हमा एक सय सात दलहरु एकाअपसमा भिड्दैछन् । निर्वाचन आयोगद्धारा प्रदान गरिएको चुनाव चिन्हमा पहिलो नम्बरमा सूर्य, दोस्रोमा रुख, तेस्रोमा तारा, चौथोमा घण्टी रहेको छ ।
त्यसपछि हलो, ढल्केको छाता, लाउड स्पिकर, पिँध भएको सादा ढकिया, साइकल, मादल, गिलास, लौरो, खुलेको एकल आँखा, जरायो, दुई हात जोडेको नमस्कार, कुखुराको भाले, जग, पञ्जा छाप, इनार, डोको, हँसिया र तारा, कमलको फूल, माथिपट्टी फर्केको धनुष, गितार, घर, हँसिया, मोटरसाइकल, साँचो, दायाँ हातले समातेको मसाल, भित्ते घडी, कछुवा, चङ्गा, बाँसुरी, गैंती, दापसहितको खुकुरी, तुलसी मठ, गाग्री, ब्याट्री, मान्छेले काँधमा बोकिराखेको ढुङ्गा छन् ।
यस्तै, ढाका टोपी, पुतली, सुगा, हथौडा, गोलाकारभित्र शङ्ख, बज्र, हात्ती, उडिरहेको माहुरी, पुरुष, काखमा बच्चा लिएको आमा, चुच्चोले चिठ्ठी बोकेर उड्न लागेको परेवा, अँजुलीमा रहेको माटो, बाली बोकेको महिलाको आकृति, कोदालो बोकेको किसान, त्रिशुल, घोडा, सयपत्री फूल, गोलो घेराभित्र दुई पात भएको गुलाफको फूल, लोकला कोरिएको गाग्रोमा आँपको कलश र त्यसमाथि नरिवल, कम्प्युटर (किबोर्डसहित), गाढा निलो कलरको गोलाकारभित्र २४ किलाको चक्र, लालटिन, हात मिलाएको, चापाकल (ट्युबेल), बलिरहेको बिजुलीको चिम, सिठ्ठी, प्रेम, ओदान, तीर, ट्याक्टर, रेडियो, रथ, तीन ढुंगे अघिनो पनि चुनाव चिन्ह छन् ।
ढुंगे धारा, गदा, भेडा, चश्मा, बलिरहेको दियो, बस, स्कुटर, पाँचमुखे रुद्राक्षको दाना, दुईटा पैताला छाप, करुवा, षटकोण, सुकुन्दा, पुल, चकिया (जाँतों), माटोबाट उम्रिएको तीन पात भएको बिरुवा, गोलो घेराभित्र पानीको बोतल, बुल्डोजर, लुगा सिउने कल, हात मिलाएको महिला र पुरुष (समानता), परेवा, तराजु, खरायो, सेतो र कालो रंगको जुत्ता, खुला किताब, खुलेको ताला, आवाज सुनिरहेको कान, श्रीवत्स समृद्धिको प्रतीक, गोलाकारभित्र बुढी औंला उठाएको लाइक आकृति, कोदालो, मोबाइल, मकैको बाला, दुई औंला खुलेको तिन औंला बन्द भएको हातको आकृति, जगर भएको सिंह, डुङ्गा र भैंसी चिन्हसमेत वितरण गरिएको छ ।
टिप्पणीहरू